सानैबाट हामीलाई मानिस सामाजिक प्राणी हो भनेर पढाइयो। सामाजिक भन्नेबित्तिकै त्यसका आफ्नै दायरा र दृष्ठिकोणहरू छन्। सायद सामाजिक भन्ने शब्द सुन्नेवित्तिकै हामी आफू कम र आफूले देखेको समाजको बारेमा बढी सोच्ने गर्छौं।
साहित्यमा पनि त्यसको प्रभाव हुनुपर्छ। हामीले केटाकेटीमा पढेका कथामा म भन्दा पनि ‘ऊ’ सर्वनाम प्रयोग गरेका पात्रहरू बढी भेट्थ्यौं। र, किन-किन ती पात्रहरू आफूजस्तो लाग्दैनथ्यो। अरु नै दुनियाँका मानिसहरूजस्तो लाग्थ्यो। उनीहरूको भोगाइ आफ्नोजस्तो लाग्दैनथ्यो। त्यसैले, आज साहित्यमा निजत्वको प्रयोग र त्यसको प्रभावको बारेमा केही भन्न मन लाग्यो।
निजत्व भन्नेवित्तिकै हामी आफूलाई सम्झन्छौं। चाहेर-नचाहेर कुनै पनि लेख्य चिज लेखकको निजत्वको परिणाम हो। सिग्मण्ड फ्रायड भन्छन्, ‘लेखन भनेको लेखकको अबचेतन चाहनाहरूको परिणाम हो।’
त्यसैले, मेरो लेखाइ मैले देखेको सोचेको दुनियाँ हुँदै होइन भन्न कुनै पनि लेखकलाई गाह्रो छ। सायद, मानिस त्यस्तो प्राणी हो, जसले आफूबिनाको संसार कल्पना गर्नै सक्दैन। त्यसैले, लेखकको निजी अनुभव उसको लेखनमा आउनु कुनै नौलो कुरा होइन भन्ने मलाई लाग्छ।