हाडजोर्नीको केही समस्या देखा पर्ने बित्तिकै बिरामीको मुखमा उनको नाम सबै भन्दा पहिला निस्कन्थ्यो। यही पेसामा उनले नाम कमाए। इज्जत कमाए। आफ्नो उपचारबाट उनले धेरैलाई निको पनि बनाए। विरामीको सेवामा खटिँदा रमाउँथे, उनी।
बिरामीप्रति उनी सधैँ नम्र व्यवहार देखाउँथे। कर्णालीमा धेरै डाक्टर टिक्टैनन्। तर उनी टिके। कर्णालीलाई स्वास्थ्य क्षेत्रमा अगाडि लैजानुपर्छ भन्ने सोचले उनले डेढ दशकभन्दा लामो समयदेखि कर्णालीलाई कर्मथलो बनाइरहेका थिए।
उमेरले ५९ पुगे पनि उनको कामप्रतिको लगाव सुरुवाती दिनभन्दा कम थिएन। तर उनको त्यो जोसजाँगर लामो समय टिक्न सकेन। उनको मन हुँदाहुँदै पनि शरीरले उनलाई साथ दिएन।
उनी विरामी परे।
बिरामी भएको १८ दिन पछि अर्थात असोज १५ गते देशमा हलचल मच्चियो। जताततै हल्ला फैलिरहेको थियो, ‘कोरोना भाइरस संक्रमणका कारण डाक्टरको मृत्यु भयो।’ नेपालमा कोरोना भाइरसको संक्रमणले विकराल रुप लिँदै गर्दा संक्रमणका कारण कयौँले ज्यान गुमाइसकेका थिए।
तर चिकित्सा शिक्षा क्षेत्रका व्यक्तिले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएको त्यो पहिलो थियो। कोरोना भाइरसको संक्रमणसँग जुध्दा जुध्दै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. हरिप्रसाद सापकोटाले असोज १५ गते दिउँसो नेपालगञ्जको भेरी अस्पतालमा देह त्यागे।