विश्वास खड्काथोकी
सशस्त्र प्रहरी बलको नेपाल एपीएफ अस्पतालबाट फोन आयो– कोभिडका एक बिरामीलाई प्लाज्मा चाहिएको थियो, दिने कोही भएनन् । त्यसैले, तपाईसंग सम्पर्क गरेको… ।’
कोरोना संक्रमिण भएका नेपाली सेनाका जमदार गणेशकुमार खड्का बलम्बुस्थित त्यसै अस्पतालको आइसोलेसनबाट गोरखबहादुर गणको क्वारेन्टिनमा सरेको सातादिन पनि भएको थिएन । प्लाज्माको कुरा सुनेर उनी एकछिन् अक्मकिए ।
फोन गर्नेले आग्रह गरे, ‘धेरैलाई भन्यौं, तर दिन मान्नुभएन । तपाई त सैनिक पनि भएकाले सहयोग गर्नुहुन्छ कि भनेर कुरा गरेको । दिँदा गाह्रो पर्ने कुरा केही छैन पनि ।’
अनि खड्काले भने, ‘ठीकै छ, मेरो कारणले कसैको ज्यान बँच्छ भने दिन्छु । तर, मैले अफिसरहरुसँग अनुमति लिनुपर्ने हुन्छ ।’
त्यसपछि उनले प्लाज्मा थेरापी र प्लाज्मा दिँदाका फाइदा–बेफाइदाबारे इन्टरनेटमा खोजी गरे । ‘प्लाज्मा दिनु भनेको सामान्य रगत दिनुजस्तै रहेछ’, उनी भन्छन्, ‘अनि गुल्मपतिलाई भनेर प्लाज्मा दिन तयार भएँ ।’
त्यतिबेला नेपालमा एक जना मात्र संक्रमितलाई कन्भलेसेन्ट प्लाज्मा थेरापी गरिएको थियो । त्रिवि शिक्षण अस्पतालमा प्लाज्मा थेरापी गरिएका प्रसुति तथा स्त्री रोग विशेषज्ञ ज्ञानेन्द्रमान कार्की संक्रमणमुक्त भएका थिए ।