शेयरबजारमा उतारचढाव, नेप्सेमा सामान्य 'करेक्सन'

बिएल संवाददाता

काठमाडाै‌ं

शेयरबजारमा मंगलबार बन्द हुने समयमा केही 'करेक्सन' आएको छ । नेप्से सूचक ९.०४ अंकले घटेर १९९५.३५ विन्दुमा पुगेर बन्द भएको छ ।

दिनभरि नै उतारचढाव देखिएको नेप्से मध्यान्हपछिसम्म पनि २००० हजार विन्दु माथि टिकेको थियो । अन्तिम प्रहरमा केही तल झरेको हो । नयाँ लगानीकर्ताहरु यस्तो उतारचढावका कारण बढी अन्योलमा परेको विश्लेषकको बुझाइ छ ।

नेपाली शेयरबजारको इतिहासमै आइतबार सर्वाधिक उच्च १२३ अंकले घटेको थियो । फेरि सोमबार बजार सजिलैसँग फकिएको थियो तर मंगलबार भने बजारको गति अस्थिर देखिएको छ । शेयरबजारका जानकारहरु यसलाई 'करेक्सन' भएको बताउँछन् । 
 
 २०२ कम्पनीको ५ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड २५ लाख ६६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएका छन्। खरिदबिक्री भएकामध्ये २ वटा समूहको सूचक वृद्धि भएको छ भने बाँकी तल झरेका छन् ।

हाइड्रोपावर समूहमा चमक देखिएको छ । नारायणी डेभलपमेन्ट बैंकसहित ४ वटा कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेपाल टेलिकम परेका छन् ।

प्रकाशित मिति: : 2020-12-08 16:46:00

प्रतिकृया दिनुहोस्