बिजुली खपत कसरी बढाउने, कुलमान घिसिङका यस्ता छन् टिप्स

रातोपाटी

काठमाडौँ

 

कुलमान घिसिङ

कोभिडले थुप्रै आर्थिक र सामाजिक क्षेत्रजस्तै ऊर्जा खपतको शृङ्खलालाई पनि नराम्रोसँग प्रभावित पारेको छ । विश्व बजारमा पेट्रोलियमको ‘फ्युचर’ मूल्य नकारात्मक हुन पुग्यो । यसले अन्तर्राष्ट्रिय विनिमय प्रणालीलाई नै उथलपुथल बनायो ।

नेपालमा पनि खासगरी जलविद्युत्मा महामारीको प्रभाव बढी परेको छ । बन्दाबन्दीका कारण उत्पादित विद्युत् खपत हुन नसक्ने अवस्था सिर्जना भयो । उद्योगधन्दादेखि विद्यालय, होटलजस्ता सेवा क्षेत्रका सबै व्यवसाय ठप्प हुँदा विद्युत् खपतमा ठूलो समस्या आयो ।

अर्कातिर निर्माणाधीन विद्युत् आयोजनाको काम पनि प्रभावित भएको छ । कोभिडको प्रभाव संसारभरि नै परेकाले बन्दाबन्दीको अन्त्यपछि पनि आयोजनाका लागि आवश्यक सामान आउन सकेनन् । यसले जलविद्युत् आयोजना, प्रसारण लाइन र सबस्टेसन आयोजना निर्माणमा ढिलाइ भएको छ । यसरी महामारीले उत्पादन र उपभोग दुवैतिर समस्या ल्याएको छ ।

वार्षिक १५ प्रतिशत हाराहारीले बढिरहेको विद्युत् माग कोभिडपछि वृद्धि हुन सकेन । उल्टै सामान्य अवस्थामा हुने खपतसमेत घटेर ऋणात्मक हुँदै गयो । बिजुलीको मागको चक्र नै रोकियो । यो खाडल पुर्न नेपालले ऊर्जा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्नुपर्ने हुन सक्छ ।

माग घट्नेबित्तिकै विद्युत् पनि खेर जाने अवस्था आयो । रातको समयमा त दिनहुँ विद्युत् खेर गइरहेको थियो । दिउँसोको समयमा समेत मागभन्दा उत्पादन धेरै हुने अवस्था आयो । एकातिर उत्पादित बिजुली खेर गइरह्यो भने अर्कोतिर कोभिड प्रभावित उपभोक्तालाई विभिन्न खाले छुट दिनुप¥यो । कोभिडकै कारण बिक्री भएको विद्युत्को महसुलसमेत समयमै संकलन गर्न नसक्दा यसले आर्थिक रुपमा पनि प्राधिकरणलाई कमजोर बनाएको छ ।

कोभिडले देशभित्र मात्र नभएर अन्तरदेशीय विद्युत् व्यापारमा पनि निकै ठूलो प्रभाव पारेको छ । सामान्य अवस्था नेपालले रातको समयमा भारतमा धेरै विद्युत् निर्यात गर्न सक्थ्यो । कोभिडका कारण भारतमा समेत बन्दाबन्दी भएपछि त्यहाँ पनि उद्योगधन्दा चल्न सकेनन् र नेपालबाट रातमा निर्यात हुन सक्ने विद्युत्को ठूलो हिस्सा खेर गइरहेको छ ।

 

प्रकाशित मिति: : 2020-12-08 14:15:00

प्रतिकृया दिनुहोस्