करिअरकाे सम्भवत: अन्तिम भेटमा मेसी–राेनाल्डाे

दीप सुवेदी

काठमाडाै‌ं

विश्व फुटबलमा कुनै बेला लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको एकछत्र राज थियो। अर्जेन्टिनी सुपरस्टार र पोर्चुगाली सुपरस्टार बिनाको फुटबल प्रायः कल्पना समेत गर्न सकिँदैन थियो।

यी दुई सुपरस्टारलाई फुटबल प्रेमीले विश्व फुटबलका दुई महानहस्ती ब्राजिलका पेले र अर्जेन्टिनाका हालै दिवंगत डिएगो म्याराडोनाको उत्तराधिकारीको रुपमा तुलना गर्थे। खेल्ने शैली फरक भएपनि उनीहरुको खेलले सबैलाई सम्मोहित तुल्याउँथ्यो। 

यी दुबैले करिब एक दशक अन्तर्राष्ट्रिय फुटबलमा दबदबा कायम गरे। पछिल्लो दशक अन्तर्राष्ट्रिय फुटबलमा बनेको प्रायः सबै रेकर्ड उनीहरुकै नाममा छ। विश्व विख्यात ‘बेलोन डि’ओर’ अवार्ड मात्र उनीहरुले ( मेसी–६ र रोनाल्डो–५) ११ पटक बाँडिचुँडि थापेका छन्। 

यी दश वर्षमा एक पटक मात्र क्रोएसियाका लुका मोड्रिकले बेलोन डि’ओर जितेका थिए। 

एक पछि अर्को खेलमा आफूलाई उत्कृष्ट सावित गरेका मेसी र रोनाल्डोले  विश्व फुटबल जगतलाई दुई भागमा विभाजित गरेका थिए। 

जुन बेला मेसी बार्सिलोनाबाट करिअर बनाइरहेका थिए, उनलाई चुनौति दिन सन् २००९ मा इंगलिस महारथी म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिडमा स्थानान्तरण भएका थिए, रोनाल्डो।

बार्सिलोना र मड्रिडको भिडन्तलाई स्पेनीस लिगमा ‘एल क्लासिको’ नाम दिने गरिन्छ। यो सबैलाई थाहा भएकै विषय हो। यसमा पनि बार्सिलोनाबाट मेसी तथा मड्रिडबाट रोनाल्डो मैदानमा उत्रिँदा खेलमा ‘सुनमा सुगन्ध’ नै थपिन्थ्यो। 

तर, रोनाल्डोको मड्रिडबाट बर्हिगमनले स्पेनिस लिगलाई ठूलो घाटा पुगेको छ। यद्धपि च्याम्पियन्स लिगका कारण कहिले काहिँ जुर्ने अवसरका कारण फुटबल प्रेमीहरू यी दुईले एक–अर्काविरूद्ध खेलेको हेर्न थप उत्साहित बन्ने गरेका छन्। 

यस्तै मौका मंगलबार राती जुर्दैछ। च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’ चरणको खेलमा बार्सिलोना र हाल रोनाल्डो अनुबन्धित इटालियन क्लब युभेन्ट्सबीच दोस्रो लेगको खेल हुदैछ। 

समूह चरणको खेलमा १५ अंकका साथ बार्सिलोना अंक तालिकाको शीर्ष स्थान तथा १२ अंकसहित युभेन्ट्स दोस्रो स्थानमा भएका कारण यो खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ। 

पहिलो लेगको खेलमा कोरोना आशंकाका कारण रोनाल्डो अनुपस्थित भएका थिए। राती बार्सिलोनाकै घर क्याम नोउमा खेल हुने कारण पनि यसको रोमाञ्चकता बढेको छ। 

मेसी र रोनाल्डोले व्यक्तिगत प्रतिस्पर्धालाई बेग्लै उचाईमा पु¥याएका छन्। एक अर्काको प्रतिस्पर्धाले झनै राम्रो प्रदर्शन गर्न प्रेरित भएका यी दुईको खेलमा बेग्लै चर्चा हुनु स्वभाविक पनि हो। 

सन् २०१० देखि २०१९ सम्म रोनाल्डोले ५ सय ७५ खेल खेले। त्यसबाट उनले ५ सय ५४ गोल गरेका छन्। यसमा उनले ४ सय ७७ गोल क्लबका लागि र ९० खेलमा ७७ गोल देशका लागि गरेका छन्। 

मेसीले पनि यो दशक ६ सय १४ खेल खेले। त्यसबाट उनले ५ सय ७६ गोल गरेका छन्। उनले पनि क्लबका लागि ५ सय २० खेलमा ५ सय १९ गोल गरेका हुन् भने देशका लागि ९४ खेलमा ५७ गोल गरेका छन्।

सन् २०१८ मा एकाएक रियल मड्रिड छोडेर युभेन्ट्स जाने निर्णय गर्नुअघि मेसी र रोनाल्डोबीच सोही वर्षको मे महिनामा ‘एल क्लासिको’ मा भेट भएको थियो। उक्त खेलमा रोनाल्डो र मेसी दुबैले आ–आफ्नो टिमको लागि एक–एक गोल गरेका थिए। 

रोनाल्डोले स्पेन छोडेदेखि मेसीसँग मैदानमा भेट भएको छैन। त्यसैले पनि बुधबारको खेललाई सबैले चासोको रूपमा लिएका छन्। 

कोरोनाको चेपुवाका बीच बार्सिलोनाले पहिलो लेगको खेल २–० ले जित्यो। रोचक कुरा त्यो खेल बार्सिलोनाले युभेन्ट्सकै घरेलु मैदानमा जितेको थियो र कप्तान मेसीले पेनाल्टीमा एक गोल गरेका थिए भने अर्को गोल ओस्मान डेम्बेलेले। 

फेरि प्रमाणित गर्ने मौका

च्याम्पियन्स लिगको समूह चरणअन्तर्गत अन्तिम खेल मंगलबार राति नेपाली समयअनुसार १स्४५ बजे शुरु हुनेछ। 

यस खेलमा बार्सिलोनाका कप्तान मेसी र युभेन्ट्सका स्ट्राइकर रोनाल्डो मैदानमा उत्रने लगभग पक्का छ। 

दुबै खेलाडी राति मैदानमा उत्रिएको खण्डमा फुटबलप्रेमीको लामो समयदेखिको प्रतीक्षा समाप्त हुनेछ। मेसी र रोनाल्डोलाई पुनः एकै मैदानमा खेल्दै गरेको हेर्ने उनीहरुको चहाना पूरा हुनेछ। 

‘हेड टू हेड’मा बार्सिलोना अगाडी 

बार्सिलोना र युभेन्ट्सले सबैखाले प्रतियोगितामा कूल १६ पटक एक अर्काको सामना गरेका छन्। 

जसमध्ये बार्सिलोनाले ७ खेल जितेको छ भने युभेन्ट्सले ५ खेल। ४ खेल बराबरीमा सकिएको छ। 

यसअघि नै दुबै टोलीले जारी सिजनको च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा स्थान बनाइसकेका छन्।  बार्सिलोनाले ५ खेलबाट शतप्रतिशत जित हात पार्दै १५ अंक जोडेको छ भने युभेन्ट्सले समान खेलबाट १२ अंक।

यो खेल युभेन्ट्सले जितको खण्डमा दुबैको अंक समान हुनेछ, १५। तर युभेन्ट्सले फराकिलो जित ननिकाले गोल संख्याको आधारमा समूह बिजेता बन्ने छ, बार्सिलोना नै। 

त्यसैले यो खेलमा बार्सिलोनालाई समूह बिजेता बन्नबाट रोक्न युभेन्ट्सका स्टार रोनाल्डोले जादुमय खेलको प्रदर्शन गर्नु आवश्यक छ। 

चोटले पिरोलिएको बार्सिलोना र युभेन्ट्स

घरेलु लिगमा खराब सुरुवात गरेको बार्सिलोनालाई चोटले पिरोलेको छ। 
नकआउट चरण प्रवेश गरिसकेको बार्सिलोनाका उस्माने डेम्बेले चोटग्रस्त छन्, उनीसँगै जेरार्ड पिके,अन्सु फाटी, सर्जियो रोबेर्टोका साथै स्यामुअल उम्टिटी मैदान फर्किने सम्भावना लगभग कमै छ। 

बुधबार ‘फ्रन्ट लाइन’मा कप्तान मेसी, फिलिपे कोउटिन्हो साथै एन्टोनी ग्रिजम्यान हुनेछन्, प्रशिक्षक रोनाल्ड कोएमनको योजनामा।

यसका साथै मार्क टेर स्टेगेन (गोलरक्षक) रक्षकमा सर्जिनो देस्ट, रोनाल्ड आरोजो, क्लिमेन्ट लेंग्लेट, जोर्डी अलवा हुनेछन्। यस्तै मिडमा मिरालेम पियानिक, डे जोङ्ग, पेड्री हुनेछन् सम्भावित ११ मा।

यता बार्सिलोना जस्तै चोटले पिरोलिएको छ युभेन्ट्स पनि। चोट कै कारण भर्पदा गोलरक्षक जियानलुइजी बुफोन, डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीका साथै डानिलो मैदान बाहिर रहनेछन्। 

तर, घरेलु लिग खेल्नबाट बन्चित अल्भारो मोरटा भने फर्किने छन् टोलीमा। मोरटा रोनाल्डोसँग खेल्ने भएसँगै पाउलो डिबला फ्रन्ट लाइनमा देखिने छैनन्।

बुफोनको सट्टा युभेन्ट्सले भरपर्दा गोलरक्षक ओचेक सेज्नी उतार्ने छ। 

उनलाई डिफेन्समा लियोनार्दो बोनुची, डी लिग्ट, अलेक्स सान्ड्रो र क्वाड्रादोले साथ दिनेछन्।

यता मिडमा डेयान कुलुसेभेस्की, आड्रेन राबिओट, रोड्रिगो बेन्टान्कुरले साथ दिनेछन्।

बार्सिलोनालाई मेसीको डर, युभेन्ट्सलाई रोनाल्डोको भर

कप्तान मेसीले यो सिजन राम्रो लय देखाउन सकेका छैनन्। कहिले कल्बको प्रेसर त कहिले बोर्डको रोकटोकबाट पनि उनी उत्तिकै पिरोलिएका छन्। 

सिजनको सुरुवात मै उनी क्लबबाट अलग हुन चाहन्थे। तर, त्यो सम्भव हुन सकेन। कल्बका पूर्वअध्यक्ष जोसेप मारिया बार्तोमेउले कल्ब छाडेर जाने भए ७०० मिलियन बढी रकम तिर्नुपर्ने भन्दै रोकटोक लगाए।   

उनी अदालतको बाटो जान सक्थे तर उनको मनले मानेन। त्यसैले हाल उनी कल्ब मै बस्न बाध्य छन्। 

नयाँ प्रशिक्षकसँग पनि उनको सम्बन्ध राम्रो बन्न सकेको छैन। गत अक्टोबर २७ बाट क्लबको कार्यबाहक भूमिकामा रहेका कार्लेस टस्केट्ससँग पनि उनको सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन। 

हाल क्लबबाट खेल्ने वातावरण नबनेका कारण आशालाग्दो खेल पनि देखाउन सकेका छैनन्। 

प्रशिक्षक  कोम्यानले गत बुधबार च्याम्पियन्स लिगअन्तर्गत फेरेन्क भारोसविरुद्धको खेलमा उनलाई आराम दिए।

गत साता डाइनोमो किभलाई ४–० ले हराएको खेलमा पनि मेसीलाई खेलाइएन। टोलीले नकआउट चरणमा स्थान बनाइसकेकोले कोम्यान अर्को खेलमा पनि मेसीलाई आराम दिन चाहिरहेका छन्।

यता कल्बका कार्यबाहक अध्यक्ष टस्केट्सले आर्थिक भार कम गर्न भएपनि मेसीलाई बेच्नुपर्ने बताएका छन्। 

बार्सिलोनामा खराब शुरुवात गरेका ग्रिजम्यानले बिस्तारै लय समात्दै छन्। मेसीको बिग्रदो फर्मलाई लिएर प्रशिक्षक कोम्यानले ग्रिजम्यानको बढी सहारा लिइरहेका छन्। 

तर, यति हुँदाहुँदै पनि बार्सिलोनाको योजना सफल हुने सकेको छैन। घरेलु लिगमा यसै वर्ष उक्लिएको नवप्रवेशी कल्ब काडिजविरुद्धको खेलमा हालै पराजित भएको थियो, बार्सिलोना। 

उक्त खेलमा मेसी थकित देखिएका थिए। उनले आश गरेको जति पनि प्रदर्शन गरेनन्। 
एकै खेलमा मेसीले २९ पटक बल नियन्त्रण गुमाए। यो सिजन मेसीले बलमाथि गुमाएको नियन्त्रण सबैभन्दा बढी हो।

 यो वर्ष उनको गोल संख्या पनि नाजुक छ। उनले १६ अवे खेलमा मात्र २ गोल गरेका छन्। 

उनले १३ खेल खेलिसक्दा ७ गोल मात्र गरेका छन्। त्यसमा ५ गोल पेनाल्टीबाट सम्भव भएको थियो। २ गोल मात्र नियमित समयमा गरेका थिए। 

मेसीको तुलनामा रोनाल्डो लयमा देखिन्छन्। गत साता मात्र क्लब फुटबलमा ७ सय ५० गोल पूरा गरेका रोनाल्डोले युभेन्ट्समा पनि आफू उत्कृष्ट खेलाडी हो भन्ने प्रमाणित गरिसकेका छन्। 

यस सिजन उनले ६ खेलमा ८ गोल गरिसकेका छन्। 

अन्तिम खेल हुनसक्छ

कोरोका कारण बार्सिलोनाको आर्थिक अवस्था बिग्रेको छ। खेल हेर्न दर्शक समेत नआउने भएका कारण बार्सिलोनाले आय–आर्जनको ठूलो हिस्सा गुमाउँदै छ। 

मैदानमा दर्शकसमेत नआउने र प्रायोजकसमेत पाउन मुस्किल हुँदा क्लबको आयस्रोत खुम्चदो छ।

जसका कारण दुबै क्लबले खेलाडीले पाउँदै आएको तलबमा ४० प्रतिशतसम्म कटौति गरेका छन्। 

यही कारण बार्सिलोना र युभेन्ट्सले धेरै पारिश्रमिक दिनुपर्ने खेलाडीलाई नराख्ने घोषणा गरिसकेको छ। यो सूचिको अग्रस्थानमा मेसी र रोनाल्डो नै पर्छन। 

युभेन्ट्सबाट रोनाल्डोले प्रतिसाता आठ लाख ५० हजार पाउन्ड लिन्छन्। मेसीको प्रति साताको कमाईं नौ लाख पाउण्ड रहेको छ। 
 

प्रकाशित मिति: : 2020-12-08 14:36:00

प्रतिकृया दिनुहोस्