प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको पुष्टि गरे।
संघीय संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी बैठक बोलाइएको उनले जानकारी दिए।
देशभर राजावादीहरुको आन्दोलन बढेसँगै यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाइएको छ।
पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किए नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे नेता जनार्दन शर्माले छलफलका लागि विशेष प्रस्ताव पेश गरेका थिए।
सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र ‘नेपाल’को नाम बदलेर नेपाल मात्र राख्ने निर्णयबाट गणतन्त्रविरोधीहरु उत्साहित देखिएका र खुलेआम संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका शर्माले टिप्पणी गरेका छन्।
उनले सरकारले कोराना भाइरसबाट जनताको जीवन रक्षा गर्नुका साथै पूर्णरुपले आर्थिक गतिविधि सञ्चालनको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
यसअघि प्रधानमन्त्रीले गत वैशाखमा भारतले सीमा मिचेपछि सर्वदलीय बैठक बोलाएका थिए।