अन्तिममा ओली पुगेनन्, चिठी पुग्यो

आइतबार बिहान सुरक्षाकर्मीको टोलीले धुम्बाराहीस्थित नेकपा मुख्यालयको अनुगमनसमेत गरेको थियो । सुरक्षाकर्मीको रिपोर्टअनुसार बैठक माथिल्लो तलाबाट तल्लो तलामा सारिएको थियो । तर, १० बजे बालुवाटारले सन्देश पठायो– प्रधानमन्त्री आउनुहुन्न ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली पार्टी स्थायी कमिटीको बैठकमा उपस्थित हुन्छन् कि हुन्नन् ? राजनीतिक पर्यवेक्षक मात्र होइन, नेकपा स्थायी कमिटीका नेताहरू पनि विभिन्न अनुमान गर्दै थिए । त्यहीबीच आइतबार बिहान सुरक्षाकर्मीको एक टोलीले धुम्बाराहीस्थित नेकपा मुख्यालयको अनुगमनसमेत गरेको थियो । सुरक्षाकर्मीको रिपोर्टअनुसार बैठक माथिल्लो तलाबाट तल्लो तलामा सारिएको थियो । यसरी ओली सहभागी हुने सम्भावना बढेको वेला बिहान १० बजे भने बालुवाटारबाट शीर्ष नेतृत्वलाई सूचना सञ्चार भयो– प्रधानमन्त्री उपस्थित हुनुहुन्न । 

अपराह्न १ बजे सुरु हुने बैठकका लागि स्थायी कमिटी सदस्यहरू पार्टी कार्यालयमा उपस्थित भइसकेका थिए । तर, प्रधानमन्त्री तथा अध्यक्ष ओली अनुपस्थित भएपछि स्थायी कमिटी बैठकको प्रक्रिया कसरी अघि बढाउने ? सचिवालयका सदस्यहरूको केहीबेर अनौपचारिक बैठक बसेको थियो । 

त्यही बैठकमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलले ‘सहमतिको कोसिस गरौँ, केही समय पर बैठक सारौँ’ भन्ने प्रस्ताव गरेका थिए । खासगरी महासचिव पौडेलले समय भएमा सहमतिका लागि प्रयास गर्न सकिने ओलीको सन्देश पनि सुनाएका थिए । स्रोतका अनुसार पौडेल र पोखरेल दुई सातासम्म बैठक सार्ने पक्षमा थिए । तर, प्रचण्डले ‘सहमति जुट्छ भने एक साताका लागि बैठक स्थगन गर्ने’ आफ्नो धारणा सुनाएका थिए । त्यही सहमतिअनुसार स्थायी कमिटी बैठक सुरु हुनासाथ २८ मंसिरसम्मका लागि बैठक स्थगित भएको थियो । 

महासचिव पौडेलले प्रधानमन्त्री ओलीका तर्फबाट सहमतिको प्रयास जारी राख्न केही दिन बैठक स्थगित गर्न प्रस्ताव गरेको र त्यसैअनुसार बैठक एक साता स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘यो अवधिमा स्थायी कमिटीका नेताहरूलाई दुवै अध्यक्षका प्रस्ताव र पत्र अध्ययन गर्न भनिएको छ, सहमतिका लागि अनौपचारिक रूपमा कोसिस जारी रहनेछ,’ उनले भने । आइतबार बसेको स्थायी कमिटी बैठकले अर्को बैठक २८ मंसिरमा र केन्द्रीय कमिटी बैठक ५ पुसमा बस्ने निर्णय लिएको छ । 

आइतबार बैठक सुरु हुनासाथ नेता पोखरेलले अध्यक्ष ओलीको पत्र वाचन गरेका थिए । पत्रमा ओलीले प्रचण्डको प्रस्तावउपर औपचारिक रूपमा बैठकमा छलफल गर्न नसकिने आफ्नो पूर्वमान्यता दोहो¥याउँदै सोही कारण उपस्थित हुन नसकेको उल्लेख गरेका छन् । 
तर, नेकपाको बैठकले दुवै अध्यक्षको राजनीतिक दस्ताबेजलाई बैठकको कार्यसूची बनाएको छ । बैठकले यसबीचमा भएका पत्राचारहरूलाई समेत छलफलको प्रक्रियामा अघि बढाएको छ । 

‘अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक अगाडि बढाउँदै आज पार्टी–जीवन संकटपूर्ण परिस्थितिमा पुगेकाले एकतालाई केन्द्रमा राखेर छलफल अघि बढाउन अपिल गर्नुभएको छ,’ बैठकपछि श्रेष्ठले नयाँ पत्रिकासँग भने । 

प्रकाशित मिति: : 2020-12-07 10:52:00

प्रतिकृया दिनुहोस्