गत वर्षबाट विश्वलाई भयभित बनाउने गरी आएको कोरोना भाइरस संक्रमणको महामारीको प्रभाव जनजीवनका सबै क्षेत्रमा परे पनि जनस्वास्थ्य र शिक्षा सबैभन्दा बढी प्रभावित छ ।
शिक्षालयहरू स्वभावैले जमघट र अन्तर्क्रिया हुने स्थल भएकाले संक्रमणको प्रभाव र विस्तारको सम्भावना त्यहाँ बढी रहनु स्वाभाविक हो । विद्यालयहरू समाजका प्रतिनिधि इकाई भएकाले विद्यालयमा संक्रमण फैलिएमा समुदायमा त्यो विस्तार हुने सम्भावना रहन्छ । विद्यार्थीहरू समुदायबाट आएका हुन्छन् । पठन–पाठन, सिकाइ, परीक्षणका गतिविधि निरन्तर गतिशील हुने स्वभावका हुन्छन् ।
ज्ञान, सीप र रोजागरीको मार्ग शिक्षाले नै प्रशस्त गर्दछ । व्यक्तित्व विकास, सिर्जना र प्रतिभा प्रस्फुरणका पृष्ठाधार शिक्षालय हुन् । समय वेगवान छ, समयको गतिलाई रोक्न सकिँदैन । जीवन समयसँगै गतिशील हुने हो तर कोरोना महामारीले जीवन, सिकाइ र समयलाई छुट्याउन, विच्छेद गर्न खोज्यो, जुन मानव सभ्यताका लागि निकै गम्भीर चुनौती बनेको छ ।
विद्यालय उमेरका भाइबहिनीको भविष्य थुनिँदा त्यसले सामाजिक, आर्थिक र मनोसामाजिक असर छाड्ने कुरा स्वतःसिद्ध छ । सिकाइको चाहना, भविष्यको उम्मेद र उत्साह विद्यालयमा स्वरुपित हुन नपाउँदा बालबालिकामा कुण्ठा, भग्नासा र विकृति जाग्न सक्छ । उत्साह र उम्मेदले स्वाभाविक गति पक्डिने समय अवरुद्ध हुँदा उत्साह र समयविच्छेद हुँदा भविष्यको मार्ग नै अवरुद्ध हुन्छ । विचारक, वैज्ञानिक र कर्मशील व्यक्तित्व निर्माणको बाटो अल्मलिन्छ । यसले राष्ट्र निर्माण र राष्ट्रिय विकासको मार्गलाई पनि अल्मल्यायो । तत्काल हेर्दा अभिभावकसँग आप्mना बालबालिका रहेको देखिए पनि यसले जीवन प्रणालीलाई नै प्रतिकूल गुणत्तर प्रभाव फैलाइरहेको छ ।