ढकालको ‘लजालु पहाडहरु’ को विमोचन

साहित्यकार अमृत शर्मा ढकालको गीतकृति  ‘लजालु पहाडहरु’ विमोचन गरिएको छ। 

कृति लेखकको गृहजिल्ला बर्दियामा पनि विमोचन गरिएको हो। यसअघि गत हप्ता बाँके जिल्लाको नेपालगञ्जमा पनि विमोचन गरिएको थियो।

‘लजालु पहाडहरु’  ढकालको पहिलो पुस्तककार कृति हो। उनी करिब दुई दशकदेखि कविता, गजल, गीत, समालोचना र साहित्यिक सम्पादनमा क्रियाशिल छन्।  

९१ पृष्ठमा ६७ थान गीत समावेश गरिएको कृति युरेका पब्लिकेशन काठमाडौंले प्रकाशन गरेको हो। 

पुस्तकमाथि टिप्पणी गर्दै युवा समालोकद्वय डम्मर विसी र विजय वलीले ढकालका गीतले मानवीय संवेदनाको उच्चतम् बिन्दुलाई छुन सकेको बताएका छन्। 

समालोचक विसीले थपे, ‘यस पुस्तकमा समावेश गीतहरुले काव्यात्मक गीत लेखनको अभावलाई पुरा गर्ने हिम्मत राख्दछन्।’ 

पुस्तकका स्रष्टा ढकालले गीतको स्वतन्त्र अस्तित्व भन्नु संगीतको निरपेक्ष नरहेको तर सस्तो संगीतबद्ध सबै शब्द गीत नभैहाल्ने तर्क गरे।

कार्यक्रमका प्रमुख अतिथि कवि/समालोचक/पत्रकार राजेन्द्र प्रसाद धितालले राजनैतिक व्यक्तित्व सँगसँगै ढकालको साहित्यिक व्यक्तित्व अगाडि बढेकोमा खुशी व्यक्त गरे। 

बर्दियाली साहित्य समाजको आयोजनामा करिब ७० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा गायक एकराज पौडेल, प्रभात सुवेदी, गजलकार मधु साश्रु, कवि/समालोचक/पत्रकार राजेन्द्र प्रसाद धिताल, कार्यक्रमका सभापति हरि प्रसाद आचार्य  तथा कृतिकार ढकालले संयुक्त रुपमा गीतकृति ‘लजालु पहाडहरु’ पुस्तक विमोचन गरे।

प्रकाशित मिति: : 2020-12-06 12:24:00

प्रतिकृया दिनुहोस्