विदेशमा कोरोना भाइरस संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को साप्ताहिक रिपोर्टअनुसार यो साता थप दुईजनाको कोरोना संक्रमणले मृत्यु भएको हाे।
योसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३०१ पुगेको छ।
यो साता जर्मनी र भारतमा एक/एकजना नेपालीको कोरोना कारण मृत्यु भएको छ। कोरोनाका कारण जर्मनीमा रहेका नेपालीको मृत्यु भएको यो पहिलो घटनासमेत हो।
जर्मनीसँगै नेपालीको मृत्यु हुने देशहरुको संख्या २० पुगेको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाले बताए।
उनका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा संक्रमण पुष्टि भएकाे छ।
शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन्।
सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो कुल संक्रमितको ९१ प्रतिशत रहेको हो।