सुरेश किरण
देशमा कोरोना संक्रमण बढ्ने बित्तिकै सरकारले एउटा निर्देशन जारी गरेको थियो– स्वास्थ्य मापदण्ड पालना गरौँ, सामाजिक दूरी कायम गरौँ । जनतालाई कोरोनाबाट बचाउन सरकारले गरेको सबैभन्दा ठूलो काम पनि त्यही नै थियो ।
आखिर जनताप्रति सरकारको ठूलो दायित्व छ । त्यसैले जनतालाई कोरोनाबाट बचाउन केही त गर्नैपर्छ भन्ने दायित्वबोध गरी सरकारले यो काम गरेको थियो । ‘यो काम’ अर्थात निर्देशन जारी गर्ने काम ।
तर, विडम्बना के भयो त भन्दा सरकारले त्यत्रो निर्देशन जारी गर्दा पनि जनताले भने त्यसलाई वास्तै गरेनन् । स्वास्थ्य मापदण्ड कसैले पालना गरेनन् । सामाजिक दूरी त झनै कायम गरेनन् । मलाई त लाग्छ, सामाजिक दूरी कायम गरौँ भन्ने सरकारको निर्देशन कसैले पालना गरेको छ भने त्यो स्वयं प्रधानमन्त्री र नेकपाकै नेताहरूले मात्रै होला । अरु कसैले पालना गरेको छैन ।
तपाईं नेकपामा हेर्नोस्, त्यहाँ सामाजिक दूरी अत्यन्त कडापूर्वक पालना गरिएको छ । नेताहरू एकआपसमा आमने–सामने कहिल्यै पर्दैनन् । अझ सकिन्छ भने बोल्दा पनि बोल्दैनन् । दूरी झन् झन् फराकिलो बनाउँदै लगिएको छ । ‘गले लगाउने’ त कुरै भएन । हात मिलाउने त झनै कुरा भएन ।
उनीहरू अहिले हात मात्र होइन, मन पनि मिलाउन तयार छैनन् । आखिर सरकारको निर्देशन हो, अरुले नगरे पनि कम से कम सरकार चलाउने पार्टीले त पालना गर्नै पर्यो । त्यसैले नेकपाका नेताहरू अहिले पार्टीको सैद्धान्तिक बहस पनि बोलेर होइन चिट्ठी लेखेर अगाडि बढाइरहेका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्यूले त अब बैठक बोलाए पनि आफू नजाने भनिसक्नुभएको छ । उहाँ बैठकमै नगएपछि यो सामाजिक दूरी अझै बढ्ने पक्का छ । यति भइसकेपछि अब योभन्दा बढी सामाजिक दूरी कति बढाउने ? शायद यति भएपछि त पार्टीलाई कोरोनाले छुन नसक्ला कि ?