बेलायती महारानी र प्रिन्स फिलिपले सार्वजनिक रुपमा कोरोनाविरुद्धको खोप लगाउने

बेलायती महारानी एलिजाबेथ द्धितियले कोरोनाविरुद्धको खोप अबको केही हप्ता भित्रै लगाउने भएकी छिन्।

महारानी एलिजाबेथले सर्वसाधारणलाई खोप लगाउनका लागि उत्साहित गर्ने उद्देश्यसहित चाँडै नै खोप लगाउने तयारी भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

आपत्कालीन प्रयोगका लागि अनुमति पाएको फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको पहिलो लट बेलायतमा पुगेको छ। 

गएको बुधबार बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सर्वसाधारणको प्रयोगका लागि फाइजर र बायोएनटेक खोपलाई स्वीकृति प्रदान गरेको थियो।

अबको केही दिनभित्रै बेलायतमा प्राथमिकता सूचिका आधारमा खोप लगाउन सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महारानीसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउने छन्। डाक्टरको सल्लाहमा महारानी र प्रिन्स फिलिपले खोप लगाउने तयारी गरेको द डेलीमेलले जनाएको छ । 

उनीहरुले खोप लगाउनका लागि कुनै विशेष पहुँच वा प्रभावको प्रयोग नगरी पहिलो चरणको खोप अभियान सुरु भएपछि लाइनमा बसेर खोप लिने बताएका छन् ।

महारानी र प्रिन्सले सार्वजनिक रुपमा खोप लगाउँदा सर्वसाधारणमा खोपलाई लिएर रहेको गलत सूचनाको प्रभाव हटाउन सहयोग पुग्ने जनस्वास्थ्यविदले बताएका छन् ।

परीक्षण क्रममा फाइजर र बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ। 

खोप सुरुमा एनएचएसका कर्मचारीलाई र त्यसपछि ‘केयर होम’मा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ। 

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ।

यता सरकारले पनि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री बोरिस जोन्सन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-06 08:55:00

प्रतिकृया दिनुहोस्