बलराम केसी
सन् १९६९ मा अमेरिकाको प्रधान न्यायाधीशमा वारेन वर्गर सिफारिस भए । संसदीय सुनुवाइ सुरु भयो । सुनुवाइमा वर्गरले भने, ‘मलाई प्रधान न्यायाधीशमा नियुक्त गरियो भने आजीवन न्यायपालिकाको सुधारमा लागिपर्नेछु ।’ वारेनलाई बहुमतबाट प्रधान न्यायाधीशमा अनुमोदन गरियो । वर्गर प्रधान न्यायाधीश नियुक्त हुँदै गर्दा अमेरिकी सर्वोच्च अदालतमा अहिले यहाँ हाम्रै जस्तो मुद्दा थुप्रिएका थिए । समयमा इजलास नबस्ने एक प्रकारको बेथिति नै थियो । प्रधान न्यायाधीश र अन्य न्यायाधीशहरुले प्रशासनका काममा अलमलिनु पर्ने रहेछ ।
नियुक्त भएको महिना दिन बित्न नपाउँदै वर्गरले दुईवटा कुरा भने । एक– अदालतलाई अस्पतालसँग दाँजेर भने, ‘जसरी अस्पतालमा डाक्टरले केवल बिरामी मात्र जाँच्छन्, प्रशासनिक काम गर्नुपर्दैन । तब अमेरिकी अस्पतालहरुले नाम कमाएका छन् । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि मुद्दा मात्र छिन्ने काम गर्नु पर्छ । अदालतमा प्रशासनका लागि छुट्टै प्रशासकको व्यवस्था हुनुपर्छ ।’ ६ महिनाभित्र प्रधान न्यायाधीश वर्गरले ‘इन्टिच्युट अफ कोर्ट म्यानेजमेन्ट’ गठन गरे । र, अमेरिकी बार एसोसिएसनसँग सहकार्य गरेर हाम्रो रजिस्टार जस्तो अदालत प्रशासकहरु तयार पारे । प्रधान न्यायाधीशमा बहाली भएको एक वर्षभित्रै वर्गरले न्यायाधीशहरुले मुद्दा मात्र छिन्ने, प्रशासन हेर्दै नहेर्ने व्यवस्था गरे ।