फाइजर र बायोएनटेककाे पहिलो चरणको खोप बेलायत पुग्यो

Breaknlinks
Breaknlinks

आपत्कालीन प्रयोगका लागि अनुमति पाएको फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको पहिलो लट बेलायतमा पुगेको छ। 

बेल्जियममा उत्पादन गरिएको खोप युरोटनेल हुँदै बेलायतसम्म लगिएको हो।

गएको बुधबार बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सर्वसाधारणको प्रयोगका लागि फाइजर र बायोएनटेक खोपलाई स्वीकृति प्रदान गरेको थियो।

फाइजर र बायोएनटेकको खोप सुरक्षित रहेको भन्दै बुधबार प्रयोगको लागि अनुमति दिइएको हो। 

परीक्षण क्रममा फाइजर र बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको भन्दै प्रयोगका लागि अनुमति मागेको थियो। 

योसँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति दिने देशमध्ये बेलायत पहिलो बनेको छ। 

खोप केन्द्रीय हबमा राखिएको बताइएको छ। यसलाई भण्डारण गर्न एकदम न्यून तापक्रम (–७० डिग्री सेन्टिग्रेड) आवश्यक पर्ने बताइएकाे छ।

खोपलाई बेलायतका विभिन्न अस्पतालका खोप केन्द्रहरुमा वितरण गर्ने तयारी छ।

बेलायतले फाइजरसँग करिब ४ करोड डोज खोप अर्डर गरिसकेको छ। 

तर फाइजरले भने पहिलो लटमा बेलायतलाई एक करोड डोज मात्रै उपलब्ध गराउने जनाएको छ। यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो।

यता बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै ‘अर्डर’ गरिसकेको छ।

तेस्रो अर्थात् अन्तिम चिकित्सकीय परीक्षणमा मोडर्नाले बनाएको खोप मानिसलाई कोरोनाबाट बचाउन ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

मेडेर्नाले पनि अमेरिकी खाद्यान्न तथा औषधि प्रशासन (एफडीए)सँग सङ्कटकालीन प्रयोगका लागि स्वीकृती मागिसकेकाे छ।  

खोप सुरुमा एनएचएसका कर्मचारीलाई र त्यसपछि ‘केयर होम’मा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ। 

दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ।

यता सरकारले पनि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो।

बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री बोरिस जोन्सन कार्यालयले जनाएको छ।

प्राध्यापक जोनथन भान–तामले प्राथमिकताको सूचिमा रहेका सबैले खोप लगाउने बताएमा यो कुरा सम्भव रहेको बताएका हुन्। खोप जतिसक्दो चाँडो वितरण गरिने पनि उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-12-04 07:33:00

प्रतिकृया दिनुहोस्