प्रधानमन्त्रीज्यू, ऐेना फुटाएर के गर्ने ?, फोहोर ऐनामा हैन... अनुहारमा छ!

प्रधानमन्त्रीज्यू, फोहोर ऐनामा हैन अनुहारमा छ । अनुहारको फोहोर हटाउन ऐना फेरेर हुदैन, अनुहार नै सफा गर्नुपर्छ । जब ऐना फेर्ने मात्र कुरा हुन्छ, त्यहीबाट सुरू हुन्छ, आस्थाको पतन र निष्ठाको दोहन । आस्थाको चिहानघारी बनाइ सकिएको मुलुकमा निष्ठा खोजेर कसरी पाइएला र?
..............

सन् २०१६ को जुन ७ मा मैले यो आलेख लेखेको रहेछु। तत्कालिन नेकपा एमाले त्यसमा पनि ओली नजक मानिने दृष्टि सम्पादकको प्रिन्ट लाइनमा मेरो नाम छापिन्थ्यो सल्लाह सम्पादक डा. प्रदीप भट्टराई भनेर । म नियमित रूपमा बिलोम शीर्षकमा स्तम्भ पनि लेख्थे। मेरो स्तम्भ त्यो समयमा पढिने स्तम्भमा पर्थ्यो। 

त्यो समयमा कमल थापालाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनाएर खड्गप्रसाद शर्मा ओली पहिलोपटक मुलुकको प्रधानमन्त्री भएका थिए। त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र नामका दुई फरक दल थिए। ओली त्यतिबेला एमाले अध्यक्ष थिए। 

केही सन्दर्भ फरक भए पनि यो आलेखको मर्मभन्दा खासै फरक परिस्थिति छैन अहिले। केही ओली समर्थक मित्रहरू मलाई ओली विरोधीका रूपमा निन्दा गर्छन्। म कसैको समर्थक वा निन्दकभन्दा पनि आलोचनात्मक चेत भएको एक सचेत वामपन्थी हुँ, जो यथास्थितिको कहिल्यै जोजोम्यान भएन। 

म त्यतिबेला पनि भन्थें, समस्या ओलीको सोच र कोणमा छ। अहिले पनि त्यही भनिरहेको छु। तर, उनी इतिहासका यस्ता जब्बर पात्र हुन् जसले आलोचना सुन्न सक्दैन, जसले आफ्नो कमी कमजोरी कहिल्यै स्विकार्दैन, जो सदैव चिप्ला शव्दमा दिनदहाडै झुटो बोल्छ, जो आफू नरहे केही पनि नरहोस् भन्ने सोच राख्छ, जोसँग व्यक्तिगत तुष र अहमको पहाड छ। 

अब त यो मकुनै आरोप मात्र रहेन, उनी अध्यक्ष रहेकै पार्टीको सचिवालयमा अर्का अध्यक्षले राजनीतिक प्रस्तावका रूपमा प्रस्तुत त नै गरिसके । र, त्यसमा छलफल नै सुरू भैसक्यो। 

पितृशोकमा रहेको बेला इमेल गोडमेल गर्न मन लाग्यो। त्यही क्रममा यो आलेख भेटियो। लाग्यो यो आलेख आज पनि पठनीय हुन सक्छ। त्यही भएर यहाँहरू समक्ष जस्ताको तस्तै प्रस्तुत गरेको छु।

................

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दृष्टि अनलाइनको शुभारम्भ गर्दा निष्ठाको पत्रकारिताका बारेमा लामै भाषण गरे । मिसन पत्रकारिता होस् वा व्यावसायिक, निष्ठा बिनाको पत्रकारिताले कसैको पनि हित नहुने उनको भनाइ थियो ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि भौतिकरूपमा यो मेरो पहिलो देखभेट थियो । र, भौतिक रूपमा उपस्थित भएर उनको भाषण सुन्ने पनि यो पहिलो मौका जुरेको थियो । शायद दिनभरिको व्यस्तताले होला, निकै थाकेका जस्ता देखिन्थे उनी ।

सञ्चार माध्यमप्रति घुमाउरो पारामा असहमति राख्दै प्रधानमन्त्रीले भनेका थिए, प्रिअकुपाइड माइन्ड र नेगेटिव अटिटुडको पत्रकारिताले जनताको सुसूचित हुने अधिकारमाथि खेलवाड गर्छ । उनले यसै सन्दर्भमा निष्ठाको पत्रकारिताको बारेमा कुरा उठाका थिए ।

प्रधानमन्त्रीले यसो भनिरहदा यो स्तम्भकारका मनमा एउटा प्रश्न झुत्ती खेलिरहेको थियो, यो मुलुकबाट निष्ठा हराएकै वर्षाै भैसक्यो । बिना निष्ठाले चलिरहेको मुलुकमा निरपेक्ष भएर पत्रकारितामा मात्र निष्ठा खोजेर कहाा पाइएला र ?

मुलुक पछिल्लोपटक सत्ताकेन्द्रित राजनीतिमा प्रवेश गरेको छ । जे जसरी भए पनि सत्ता हात पार्ने र शक्ति आर्जन गर्ने नै वर्तमान राजनीतिको ध्येय बनेको छ । यस्तो अवस्थामा राजनीतिबाट आस्था बिचलित भएको छ भने व्यावसायिकताबाट निष्ठा । जब आस्था र निष्ठा नै रहदैन, त्यस्तो मुलुकमा प्रक्रिया गौढ र परिणाम नै प्रमुख बन्छ । मानिस जस्तोसुकै साधन प्रयोग गरेर भए पनि साध्य हात लगाउनतिर लाग्छ ।

जननेता मदन भण्डारी नेपालरत्न भए तर जीवराज आश्रित त पाँचौ तहको जनसेवा पदकको पनि हकदार भएनन् नि । आस्था र निष्ठाको कुरा गर्ने प्रधानमन्त्री ओलीकै पालामा यस्तो भयो । आखिर यस्तो कसरी हुन्छ ? तथ्यले त यसलाई स्वीकार गर्दैन, तर्कका लागि गरिने तकर्ले पनि यसलाई जायज भन्न सक्दैन। त्यसैले त भन्न मन लाग्छ, प्रधानमन्त्रीज्यू, फोहोर ऐनामा हैन अनुहारमा छ । अनुहारको फोहोर हटाउन ऐना फेरेर हुदैन, अनुहार नै सफा गर्नुपर्छ।

समाजमा दोहोरो मानसिकता चरम स्थितिमा पुगेको छ । आफूले त्यही साधन प्रयोग गर्याे भने पवित्र ठान्छ र अर्काले प्रयोग गर्याे भने अपवित्र । यो रोग दाहिनेमा मात्र हैन, देब्रे कुनामा पनि उत्तिकै छ ।मुलुक यही रोगको शिकार बन्दा विवेक बन्दकीमा परेको छ । समय र परिस्थिति अनुसार चल्नुपर्ने व्यावहारिकताका नाममा यहाा जे पनि जायज हुदैछ ।

कुनै बेला एमालेका नेताहरू जननेता थिए। उनीहरूसाग न सुरक्षाकर्मी हुन्थे, न साइरनसहितको प्रहरी स्कर्टिङ हुन्थ्यो । जनताका माझमा जनताकै घरदैलोमा हुन्थे । उनीहरूबाट साँच्चै नै जनताको सुगन्ध आइरहेको हुन्थ्यो । तर, अहिले त्यो अवस्था रहेन । समय र परिस्थितिअनुसार चल्ने नाममा उनीहरू सत्ताको नजिक र जनताबाट टाढा हुन पुगे । जनता र उनीहरूका बीचमा नयाँ सिंहदरवारको पर्खाल ठडियो । त्यही पर्खालले वारिपारि बनाउँदा सबैभन्दा पहिलो उनीहरूको आस्था स्खलित हुन पुग्यो । परिणामत: निष्ठामा प्रश्नचिन्ह लाग्यो ।

यो मुलुकमा सबैभन्दा पहिला कसैकोमा निष्ठा हरायो भने त्यो नेताकैमा हरायो । दक्षिणपन्थीहरूमा त पहिलादेखि नै निष्ठाको खडेरी लागेकै थियो । उनीहरूमा खोज्ने कुरा पनि भएन । त्यो हराउने धेरै स्कोप बामपन्थीमा थियो । वामपन्थीबाटै हरायो ।यदि त्यसो हुदैनथ्यो भने गणतन्त्रवादी एमालेले राजतन्त्रवादी राप्रपा नेपालसँग के का लागि हात मिलाउँथ्यो र ? जबकि एमालेको सारा राजनीति नै त्यही शक्तिबिरूद्ध थियो । पछिल्लो समयमा ऊ बिना पनि एमाले सत्तामा रहन सक्छ । यसमा के को आस्था र निष्ठाको प्रश्न रह्यो र ?

यो स्तम्भकारलाई लाग्छ, यो विशुद्ध सत्ता प्राप्तिका लागि हो । यसमा सत्ता साध्य हो भने सत्तामा टिकाउने साधन हो राप्रपा नेपाल । माथि भनेजस्तै, साधन जे होस्, साध्य भए पुग्यो । अनि प्रक्रिया जे होस्, परिणाम भए पुग्यो । मुलुकमा अहिले यही नै खेला जारी छ । यो खेलमा के पी शर्मा ओली अध्यक्ष रहेको एमाले र त्यसले निर्माण गरेको सत्ता गठबन्धनले बनाएका प्रधानमन्त्री स्वयं पनि संलग्न छन् । जब आस्था नै मिल्दैन, त्यसमा निष्ठाको के प्रश्न रह्यो र

निष्ठाकै सन्दभर्मा अरू पनि धेरै कुरा उप्काउन सकिन्छ । एउटा सन्दर्भ यस्तो पनि हुन सक्छ, मुलुकमा केही बनिबनाउ बेथिति छन् र केही नयाँ बेथितिहरू बसाइदैछ । तर्कले तिनीहरूलाई थिति भने पनि यथार्थमा बेथिति नै हुन् । जस्तो कि मुलुकको स्थायी सरकार भनिने कर्मचारीतन्त्र । अहिले यसमा पूरापूर राजनीतिक पम्प लगाइयो । पार्टीगत रूपमै प्यानल बनाएर ट्रेड युनियनको निर्वाचन गराइयो। र, जानेर वा नजानेर सिंहदरवारमा अर्काे एउटा समानान्तर सिंहदरवार बनाइयो ।

निर्वाचनले के चित्र साफ गर्याे भने प्रधानमन्त्रीकै पार्टीको विचार बोक्ने कार्यकर्ताकै हालीमुहाली रहेछ कर्मचारीतन्त्रमा । तर, अहिले मुलुकमा सुशासन नभएको घाम जत्तिकै सत्य हो । सुशासन दिने कसले त ? यसको सपाट उत्तर हो, सरकार अनि कर्मचारीतन्त्रले । जब दुबै सरकार एमालेकै भएर पनि जनताले सुशासन नपाएको त यो चुनावको विलोम तस्वीर हो नि । कसले देख्यो त्यो तस्वीर ? हैन भने सामाजिक न्यायमा आधारित मार्क्सवादमा विश्वास गर्नेहरूको सत्तामा त्यही वर्ग किन सुसाशित हुन सकिरहेको छैन ?

यी प्रश्नहरुको उत्तरले एउटै कुराको संकेत गर्छन् त्यो हो, सैद्धान्तिक विचलन । यसले के पुष्टि गर्छ भने मुलुकबाट आस्था पोइल गएको छ भने निष्ठा मरेको छ । मेरा केही मित्रहरू राजनीतिक ध्रुवीकरणका कुरा गर्छन् । उनीहरू भन्छन्, वामपन्थीहरू एकातिर हुनुपर्छ र यो मुलुकमा शासन गर्नुपर्छ । अहिले मुलुकलाइ त्यही दिशामा लैजान जरूरी छ ।

मलाई भने त्यस्तो कहिले लागेन । यतिबेला मुलुकमा वाम बर्चस्व छ । सत्ता किल्लाका सेनापतिहरू वामपन्थी नै छन् । तर, खै त त्यो अनुसार सैद्धान्तिक ध्रुवीकरण ? एमालेले कांग्रेसले बोकेको पार्लियामेन्ट्री डेमोक्रेसीको पक्षमा उभिएर यो मुलुकको संविधान जारी गरेको हैन र ? त्यही अनुसार संसदले छानेको प्रधानमन्त्री र अलंकारिक राष्ट्रपति छानेको हैन र ? यदि त्यसो नगरेर प्रत्यक्ष निर्वा्चित राष्ट्रपति प्रणाली अपनाउन सकेको भए प्रधानमन्त्री फेर्ने खेलमा दक्षिण लाग्न सक्थ्यो र ? सक्दैनथ्यो । तर, पनि हामी आफ्नो थैलीको तुना खोलेर बसिरहेका छौ र दक्षिणलाई हाम्रो खजाना लुटाउन तयार छौं । तैपनि हामी फेरि वामपन्थी ध्रुवीकरणको कुरा गरिरहेका छौं ।

आखिर किन यस्तो भैरहेको छ ? यी सबै प्रश्नको उत्तर सैद्धान्तिक छ । मूल कुरो हामीमा आएको सैद्धान्तिक विचलन नै हो । यसैकारण आज मुलुकका मूल पार्टीहरू विभिन्न गुटका मोर्चाजस्ता भएका छन् । पार्टीको मान्छे भएर नपुग्ने भएको छ, गुट उपगुटको मान्छे हुन जरूरी छ । धेरै टाढा जानै पर्दैन प्रधानमन्त्री ओलीकै पार्टी एमालेमा मात्र खोजे पनि पुग्छ । त्यहाँ कुनै अमुक गुट, उपगुट र नेताको मान्छेहरूको तरक्की भएको छ, एमाले मात्र भएर तरक्की हुने मान्छे अपवादमा पनि पाइदैन ।

यही नै आज मुलुक यहाँ पुग्नुको चुरो कुरा हो । योभन्दा पनि जर्जर कुरा चाहिँ यो सत्यलाइ स्वीकार गर्न नसक्नु हो। हाम्रा नेताहरू तथ्यमा कम र तर्कमा धेरै विश्वास गर्छन् । यो एउटा सिन्ड्रोम हो । यही सिन्ड्रोमका कारण तर्कका लागि तर्क गरिन्छ । र, मुलुकमा चाहेर नचाहेर तर्कको खेती सुरू हुन्छ । यसले अनावश्यक रूपमा पार्टीमै पनि पक्षधरतालाई बढावा दिन्छ । अनि सुरू हुन्छ, फ्लो र कन्ट्रा फ्लोको दोहोरी । मुलुक पछिल्लोपटक यही दोहोरीमा अल्झेको छ । 

घुम्दै फिर्दै रूम्जाटार भनेझैं , फेरि पनि आस्था र निष्ठाकै कुरा गरौं । हामी छातिमाथि हात राखेर भनौं, के हामी दिनानुदिन आस्थावान हुदैछौं ? के हामी निष्ठाको उकालो यात्रामा छौं । यी पंक्तिहरू लेखिरहदा मनमा एउटा कुरा फेरि झुत्ती खेल्दै आयो, जननेता मदन भण्डारी नेपालरत्न भए तर जीवराज आश्रित त पाँचौ तहको जनसेवा पदकको पनि हकदार भएनन् नि । आस्था र निष्ठाको कुरा गर्ने प्रधानमन्त्री ओलीकै पालामा यस्तो भयो ।

आखिर यस्तो कसरी हुन्छ ? तथ्यले त यसलाई स्वीकार गर्दैन, तर्कका लागि गरिने तकर्ले पनि यसलाई जायज भन्न सक्दैन। त्यसैले त भन्न मन लाग्छ, प्रधानमन्त्रीज्यू, फोहोर ऐनामा हैन अनुहारमा छ । अनुहारको फोहोर हटाउन ऐना फेरेर हुदैन, अनुहार नै सफा गर्नुपर्छ । जब ऐना फेर्ने मात्र कुरा हुन्छ, त्यहीबाट सुरू हुन्छ, आस्थाको पतन र निष्ठाको दोहन । आस्थाको चिहानघारी बनाइ सकिएको मुलुकमा निष्ठा खोजेर कसरी पाइएला र? आगे यहाँकै मर्जी।
०६.०७.२०१६

प्रकाशित मिति: : 2020-12-04 04:16:00

प्रतिकृया दिनुहोस्