१.परीक्षणमा उदासीनता :
स्वास्थ्य मन्त्रालयले कार्तिक १ गतेदेखि नि:शुल्क परीक्षण नगर्ने, नि:शुल्कञ उपचार नगर्ने तथा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु भएमा शव व्यवस्थापन आफन्तले नै गर्नुपर्ने निर्णय गर्यो । यो अलोकप्रिय निर्णयको बचावटका लागि स्वास्थ्य मन्त्रालयले कहिले आफू गरिब भएको घोषणा गर्न लगाए, कहिले धनी मान्छेहरूले पैसा तिरेर परीक्षण तथा उपचार गर्न अवसर दिएको भनेर कुव्याख्या गरे, कहिले लक्षण देखिएका तथा ज्वरो १०० डिग्रीमाथि भएको व्यक्तिको मात्र नि:शुल्क परीक्षण गर्ने बनाए । जनताले व्यक्तिपिच्छेका किन्तु, परन्तु, यदि आदि शब्दलाई बुझेनन् ।
यो नियम लागू भएपछि निम्न मध्यम तथा गरीब जनताका लागि परीक्षण ठाडो उकालो बन्यो । यो निर्णयबाट निजि प्रयोगशालाले निकै राहतको सास फेरे, मनमनै मन्त्रालयलाई धन्यवाद दिए ।
हामीले ७ महिनादेखि भनिरहेको पुल मेथडबाट पीसीआर टेस्ट गर्ने काम स्वास्थ्य मन्त्रालयले बेवास्ता गर्यो ।
बेवास्ता नगरेको भए यो अवस्था आउने थिएन ।
डाइरेक्ट पीसीआर, एक्सरे, एन्टिबोडी टेस्ट, एन्टिजेन टेस्ट लगायत परिक्षणका सम्भव टुललाई प्रयोग गरिएन । स्वास्थ्य मन्त्रालयले भदौदेखि सेरोप्रिभ्यालेन्स टेस्ट गर्ने (खास गरेर उपत्याकालगायत समुदायमा संक्रमण फैलिएका स्थानमा ) निकै प्रचार गर्यो । तर हालसम्म यस्तो खालको एन्टिबडी टेस्ट गरेको छैन । संसारका अधिकांश देशले यी टेस्ट गरेर कति प्रतिशत जनसंख्या संक्रमित भए भन्ने पत्ता लगाएर तदनुसार रोकथामको अभियानमा लागेका छन् ।
आमनागरिक पनि कात्तिक १ देखि परीक्षणमा उदासीन देखिएका छन् । मौसमी रुघाखोकी हो भनेर घरेलु उपचार गर्ने तर पीसीआर टेस्ट नगर्ने प्रचलन बढिरहेको छ । परीक्षण गरेपनि घरमै बस्ने हो भन्ने मानसिकता हावी भएको छ । परिक्षण नगर्दा आइसोलेसनमा बस्ने कुरो भएन, आइसोलेसनमा नबस्दा एकजना व्यक्तिले धेरै व्यक्तिलाई संक्रमण सारिरहेको अवस्था छ । तसर्थ आम नागरिकले यो महामारीबाट आफू, आफ्नो परिवार तथा समाज बचाउन रुघाखोकी लागेपनि परीक्षण गर्ने बानी बसाल्नुपर्छ ।