साँझको ६ मात्र बजेको थियो। चिसोसँगै अध्यारो पनि बढ्दो। प्रभुराम ढकाल ढोकामा बसेर घरी आकाश अनि घरी बाटोतर्फ आँखा लगाउँदै थिए। श्रीमती सुमित्रा आउने बेला भइसकेको थिएन। बेला नहुँदा पनि हतार हुँदो रहेछ। विशेषगरी आफैले मात्र निर्णय गर्न नसक्दा।
उनका वरपर मानिसहरू थिए। उनीहरूसँग प्रश्न थियो।
‘के गर्नुहुन्छ त बुबा?'
'तिर्न सक्ने पैसा छ त?’
पैसा त औषधी किन्ने पनि थिएन। सत्य थाहा हुनेले पनि पटकपटक उही प्रश्न सोध्थे। उनी अनुहार केही निन्याउरो बनाउँदै जवाफ दिन्थे – 'यत्रो महिना आफ्नै बाआमालाई जस्तो व्यवहार गर्नुभयो। घरबेटीलाई रुवाएर जाँदा पाप लाग्छ। मेरी बुढी आउँछे। पर्खम् उसले के भन्छे।'
६८ वर्षीया सुमित्रा नाङ्गलो बोकेर व्यापार गर्न निस्किएको केहीबेर मात्र भएको थियो। फूलको व्यापार। उनले धुलोमा बसेर फूल बेच्लिन्। दुई, चार रुपैयाँ फाइदै होला। तर, उनले कमाएको फाइदाले ८ महिनाको घरभाडा तिर्न पुग्दैन थियो। अवस्था यस्तो भइसकेको थियो – उनीहरूसँग औषधी किन्ने पैसा समेत बाँकी थिएन।
तिहारमा सुमित्राको आग्रहमा प्रभुरामले छिमेकीसँग दुई हजार रुपैयाँ सापटी मागे। सुमित्रा थला परेका श्रीमानलाई कोठामा एक्लै छाडेर फूल व्यापार गर्न हिँडिन्। तिहारमा व्यापार राम्रै भयो। सापटी रकम तिरेर ७ सय रुपैयाँ जोगाइन्। दुवैका लागि केही दिन पुग्ने औषधी किनिन्।
सुमित्रालाई ब्लड प्रेसरको समस्या छ। प्रभुराम मुटुका रोगी। पछिल्लो पटक, भदौमा हृदयघात् भएपछि उनी ओच्छ्यान परे। अनि दैनिकी कहिले निस्तो खानामा त कहिले औषधीको रित्तो पाताहरूमा सीमित भयो।