ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : १७ देशमध्ये नेपालमा मात्र विरोध

तस्बिर : नयाँ पत्रिका

किरण दहाल

२४ नोभेम्बरमा ट्रान्सपरेन्सी इन्टरनेसनलले ग्लोबल करप्सन ब्यारोमिटर सार्वजनिक गर्दै ५८ प्रतिशत नेपालीले एक वर्षमा भ्रष्टाचार झन् बढेको बताएको उल्लेख गर्‍यो । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको प्रतिवेदनमा उल्लेख थियो । यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको थियो । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको थियो ।

यस्तै, राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको थियो । ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार ठूलो समस्या रहेको सोच्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

प्रतिवेदन सार्वजनिक गरेलगत्तै सत्तारुढ नेकपाका नेता÷कार्यकर्ता ट्रान्सपरेन्सी इन्टरनेसनलविरुद्ध खनिए । संस्थाका नेपाल प्रमुख कांग्रेस कार्यकर्ता रहेको आरोप लगाए । उनीहरूकै स्वरमा स्वर मिलाउँदै सरकारले गत आइतबार प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगायो । कुनै खोज–अनुसन्धानविनै मनोगत ढंगबाट प्रतिवेदन अभिपे्ररित रहेको सरकारको भनाइ थियो । सञ्चार मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा सरकार र सत्ताधारी दललाई बदनाम गर्न खोज्ने प्रयासस्वरूप आएको प्रतिवेदनलाई सरकारले अस्वीकार गर्ने उल्लेख छ ।

प्रकाशित मिति: : 2020-12-02 11:53:00

प्रतिकृया दिनुहोस्