व्यवस्थाविरोधी प्रदर्शन : काँग्रेसमा कोही चिन्तित, कोही उत्साहित !

रातोपाटी

काठमाडाैं

काठमाडौं । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्षपछि राजतन्त्र पक्षधरको ठूलो सङ्ख्यामा सडकमा उपस्थिति देखिएको छ । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ३८ वर्ष लामो शाहवंश राज संस्थालाई किनारा लगाएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दसैँको अवसरमा जारी शुभकामना सन्देशमा राजनीतिक दल र अहिलेको नेतृत्वमाथि कटाक्ष गरी नेपाली जनता ‘टुहुरा’ बनेको उल्लेख गरेका थिए । संकटमा नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध भएको भन्दै आज सबैले आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेको पूर्वराजा शाहको शुभकाना सन्देशमा उल्लेख थियो ।पछिल्लो समय देशका प्रमुख सहरमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ ।अहिले काठमाडौँको जमल, मोरङको विराटनगर, बर्दिया, कैलालीको धनगढी, धनुषाको जनकपुर र कास्कीको पोखरामा, बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ठूलो सङ्ख्यामा प्रदर्शन भएको छ । 

राजावादी संस्था ‘वीर गोर्खाली अभियान’ले बुटवलमा कात्तिक १७ मा मोटरसाइकल -याली निकालेको थियो ।

त्यसपछि कात्तिक २५ गते राजधानी काठमाडौँको जमलमा ‘राष्ट्रवादी नागरिक समाज’ को नाममा राजतन्त्रका पक्षमा प्रदर्शन भएको थियो भने कात्तिक २७ गते मोरङको विराटनगरमा राजावादी समूहहरूको त्यस्तै जुलुस प्रदर्शन भएको थियो ।

यस्तै १० मंसिरमा पोखरामा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ र जनकपुरमा ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानरमा राजतन्त्रको पक्षमा सडक प्रदर्शन भएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्बिर अंकित टि–सर्ट लगाएर र राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले राजतन्त्र र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजीलाई मुख्य माग बनाएका थिए ।

प्रकाशित मिति: : 2020-11-30 00:07:00

प्रतिकृया दिनुहोस्