कार्तिक नाच संरक्षणका लागि वडाबाटै १० लाख सहयोग, बराह र नरसिंहको नयाँ मुकुट प्रदान (भिडियाे)

ललितपुर महानगरपालिका १६ वडाले कात्तिक नाच संरक्षण समितिलाई आर्थिक सहयोग गरेको छ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यले शुक्रबार राति बराह नाच देखाउनु अघि समितिका अध्यक्ष किरण चित्रकारलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 

सो नाच संरक्षणका लागि गत वर्ष अक्षयकोष स्थापना गर्ने हल्ला भएपछि यस वर्ष वडाध्यक्ष निर्मलरत्न शाक्यले १० लाखको चेक हस्तान्तरण गरेको उनले बताए। 

उनले भने, ‘महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि अक्षयकोष खडा गर्न ५० लाख सहयोग गर्ने घोषणा गरिसक्नुभयो, यसैगरी पर्यटनमन्त्री योगेशकुमार भट्टराइले कोष खडा गर्न दिने भन्नुभएको १० लाख लिन हाम्रो उहाँसँग भेट भइसकेको छैन।’

सोही क्रममा वडाले सम्पूर्ण खर्च व्यहोरेर बनाइएको चाँदीको नयाँ मुकुट पनि हस्तान्तरण गरिएको थियो। बराहले लगाउने मुकुट धेरै पुरानो र जीर्ण भइसकेको नयाँ मुकुट तयार पारिएको हो।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो। सांस्कृतिक र पर्यटकीय नगरी ललितपुरमा थुप्रै अर्मूत संस्कृतिको लोपोन्मुख रहेको चर्चा गर्दै वडाअध्यक्ष शाक्यले ती संस्कृतिको पुनःजीवन र चिरस्थायीका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

वडाअध्यक्ष शाक्यले एक वर्षअघि गरेको प्रतिबद्धता अनुरुप रकम र मुकुट प्रदान गरेर संस्कृति संरक्षणमा लाग्नेहरुको उत्साह बढाई दिएको समितिका अध्यक्ष चित्रकारले बताए।

 ‘संस्कृति संरक्षण गर्नु धेरै गाह्रो छ। यसका लागि सबैको साथ र सहयोग चाहिन्छ। संस्कृति संरक्षणमा वडाले एउटा उदाहरण पेश गरेको छ,’ अध्यक्ष चित्रकारले भने। 

मुकुट हस्तान्तरणपछि बराले नयाँ मुकुट लगाएर बराह नाच प्रस्तुत गरेको थियो। बराहले लगाउने मुकुट सय वर्षपछि फेरिएको समितिका प्रचारसंयोजक सञ्जयशर्मा राजोपाध्यायले बताए।

राजा सिद्धिनरसिंह मल्लले झन्डै ३७९ वर्षअघि सुरु गरेको भनिएको कात्तिक नाच ललितपुरको पाटन दरबारस्थित कार्तिक डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा प्रदशन गर्ने गरिन्छ।

विष्णुपुराणमा आधारित कथाअनुसार गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने दुई दिन मात्र आयोजना गर्ने लक्ष्यअनुरुप बराह र नसृह अवतार देखाइँदै छ। विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए। सो नाच विश्वकै सबैभन्दा लामो भएको विश्वास गरिन्छ।

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सुत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ। कार्तिक नाच प्रथमपटक पाँच तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन्।

यसैगरी श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीलालाई थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका जनाइएको छ। मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ।

सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कार्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो। कोरोना महामारी आउनुअघि मूलुककै लामो नाच हेर्न स्वदेशीका साथै विदेशी मुलुकका थुप्रै मानिससमेत पाटन आउथे। यस वर्ष भने इच्छुक जनताले आ–आफ्नो घरबाट नृत्यको आनन्द लिएका छन्।

प्रकाशित मिति: : 2020-11-29 15:09:00

प्रतिकृया दिनुहोस्