११ किसान मारिएको १९ वर्ष पूरा : पीडितलाई न न्याय, न सम्मान

थाहा खबर

काठमाडाैं

दाङ : दाङको घोराही उपमहानगरपालिका-१७, बर्गदीकी लाखी चौधरीले छोरा गुमाएको ठीक १९ वर्ष पुग्यो।

वि.सं. २०५८ साल मंसिर ११ गते संकटकाल घोषणा भएको २ दिनपछि अर्थात् मंसिर १३ गते घोराहीबाट गएको तत्कालीन शाही सेनाको गस्तीले बर्गदीमा सामूहिक रूपमा धान दाइरहेका ११ जना निर्दोष किसानको हत्या गरेको थियो।

पीडित परिवारले हरेक वर्ष मंसिर १३ गतेको दिनलाई कालो दिनका रूपमा सम्झन गरेका छन्।खेती किसानी गर्ने गर्ने छोरालाई आतंककारी माओवादी को आरोप लगाएर मारेको भन्दै उनले अहिलेसम्म आफूहरूले न्याय नपाएको गुनासो गरिन्। ‘म हातमा चुरा लगाउन बजार गएकी थिएँ, बजारबाट आउँदा छोरालाई मारिदिएछन्,’ उनले भनिन्, ‘छोरालाई सेनाले आतंककारी माओवादी भनेर मारेका रहेछन्, तर मेरो छोरो एकदमै सोझो थियो, खेती किसानी गरेर परिवार पाल्दै थियो।’ 

सेनाले हत्या गरेको ५ दिनपछि मात्र कीरा परेको लाश परिवारलाई बुझाएको थियो। अनि, लाखीले छोराको सडेको शव खाडलमा गाडेर अन्तेष्टि गरेकी थिइन्‌। ‘अहिले देशमा धेरै राम्रो भएको छ, तर हाम्रो परिवार अहिलेसम्म पीडामा बाँचिरहेको छ,’ उनले भनिन्।

लाखी चौधरी मात्र नभई सो सामूहिक हत्यामा ज्यान गुमाएका अन्य परिवारहरूको अवस्था पनि उस्तै छ। घटना घटेको १९ वर्ष पूरा भइसक्दा पनि पीडितहरूले न्याय र सम्मान अनुभूत गर्न नपाएको गुनासो गरेका छन्।

प्रकाशित मिति: : 2020-11-29 10:41:00

प्रतिकृया दिनुहोस्