एक प्रति सङग्रहालयमा राखेर बाँकी सबै जलाउनुपर्ने पुस्तक गरुड पुराण
पुरोहित बाजेलाई ज्याला टक्र्याउनुपर्ने एघारौँ दिन बिहान भालेको डाकमा मेरो निन्द्रा खुल्यो । बत्ती बालेँ र कुनै दिन आमाको सम्झनामा केही लेख्नुपर्दा भन्ने अभिप्रायले मनमा पुनःजीवित र पुनःआविष्कृत भएका स्मृति–प्रकरणहरू डायरीमा टिपेँ । गरुड पुराण नामक अपराध–कथा समाप्त भई एक प्रकारले मेरो मन हलुङ्गो भएको छ ।
कतै टाढा कलिलो बाछो कराएको सुनेँ । त्यसपछि चौपायका पदचापहरूको भद्दा आवाज मेरो कानमा ठोक्किन आइपुग्यो । आँगनमा बाँ गर्दै चौपाया करायो । अघिल्लो दिन बाजेलाई दान दिने लिखुरे बाछी आँगनमा बाँधिएको थियो । सोचेँ, आमाको न्यास्रो लागेर त्यही नानी कराएकी होली । पट्याक्–पट्याक्–पट्याक् । कसका चप्पलको पट्याक्–पट्याक् हो त्यो दुखिया पुरोहित बाजेको जस्तो ?
बाहिर निस्किएँ । पुरोहित बाजे लगौँटीको फुर्को हल्लाउँदै नल्कीमा नुहाइरहेका छन् । उनको सानो छोरो आँगनमा गाईको बाछोलाई सुम्सुम्याइरहेको छ । उज्यालो मिरमिर मात्र भएको छ, कति सबेरै आइपुगेका हुन् यी पिता र पुत्र ? कहाँबाट ल्याइएका हुन् यी गौमाता र उनकी शिशु पुत्री ? म जिल् परेँ ।