मान्ने

राजीव घिमिरे

काठमाडाै‌ं

नेपालको विकास नहुनुको चुरो कुरा के रहेछ? यसो जान्ने विचार गरेर घोत्लिएको थिए। अहिले यो नतिजामा पुगे– चुरो कुरा ‘मान्ने’ रहेछ।

हाम्रो झगडा–‘मान्ने’ को झगडा हो। ‘मान्ने’ भन्ने कुरा नै सबै झगडाको जड रहेछ। धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र मात्र होइन, संविधान मान्ने कि नमान्ने भन्ने कुरा मै झगडा छ। दशैं मान्ने, प्रचण्डलाई पार्टी अध्यक्ष मान्ने, ओलीलाई प्रधानमन्त्री मान्ने, पालिकालाई स्थानीय सरकार मान्ने, भारतलाई ठूल्दाइ मान्ने,  कुन भाषालाई राष्ट्र भाषा मान्ने,  कुन लुगालाई पहिचान मान्ने, महिलालाई समान मान्ने, एउटा पार्टीले अर्कोलाई मान्ने, कसैको केही क्षमता नभएर पनि ठूलो पल्टेकोलाई मानिदिनु पर्ने.... थुप्रै कुराहरू छन्।

हाम्रो विवेक ‘मान्ने’ विवेक हो। ‘म त कार्यकर्ता, पार्टीले भनेको खुरुक्क मान्ने मान्छे’ भनेर आफ्नो अन्तर आत्माले भनेको नमान्ने तर पार्टीले भनेको मान्ने दासको रूपमा आफू प्रस्तुत हुन्छन्, यसैमा गर्व गर्छन् पनि।

अझ हारेको कसैलाई सांसद बनाउन ठूलाले नै ‘संविधानमा बन्न मिल्दैन भन्ने लेखेर के भो र म त मान्दिन, अदालतलाई पनि संविधान नमान्नेमा मनाउँला’ भन्छन्। कर्मचारीले पनि भन्छन् ‘के गर्ने हजुर, मलाई पनि थाह छ। यो कुरा मान्न मिल्दैन तर माथिकाले भनेकोले मान्नै पर्यो’। कोही लाइनमा बसेन ‘हजुर लाइन बसी दिनुस् न’ भन्यो भने अरूले नमानेको लाइन मैले मात्र किन मान्ने भन्ने जबाफ आउँछ, नमान्नु नै यहाँ परम्परा बन्दैछ! यहाँ नियम मान्नु सानो हुनु हो भन्ने कुरा मानिएको छ।

हाम्रो विकास ‘मान्ने’ विकास हो। योजना नसक्किदै हतारमा सकियो भन्ने मानेर उद्घाटन गर्यो अब नेताबाट ए प्रभु भैसक्यो भनेर अरू दश वर्षमा पनि सकिँदैन। नेपालीहरू साह्रै अल्छी मान्छन् रे र स्वदेशमा परिश्रम गर्न लाज मान्ने गर्छन् रे। 

देशमा केही हुँदैन भनेर मान्ने हौं हामी, अनि विदेशीलाई स्वामी मान्ने पनि हामी नै हौं। गरि खान किन लाज मान्ने भन्न कसैले सक्दैनौं। केरूङ्गबाट रेल आयो भनेर मानि सकियो, फास्ट ट्र्याक बन्यो भनेर पनि मानि सकियो, त्यसैले वरिपरिको जग्गाको भाउ बढि सक्यो। कुनै नेताले देशको विकास गर्छु, गरिबी हटाउँछु भन्यो भने ‘केलाई मान्ने गरिबी निर्धारणको मापदण्ड?’  भनेर बुद्धिमानहरूले सुरुमै अलमल्याइदिन्छन् र अड्किन्छ विकासको इच्छा। 

कसैले ‘सबै बन्दोबस्त भइसक्यो, मल पैंचोमा आइसक्यो भन्ने मान्नुस्, धान रोप्न थाल्नुस्’ भन्यो भने हामी त्यसलाई पनि मानिदिन्छौं। त्यस्तै आफू पढेको कलेजलाई दक्षिण एशियाकै राम्रो कलेज मान्छौं, भलै चरम राजनीतिले त्यहाँ पढ्ने वातावरण नै छैन।

हाम्रो संस्कृति ‘मान्ने’ संस्कृति हो। हामी चोखो हुनु पर्दैन, चोखो छु भन्ने मानेर कर्म गरे हुन्छ, पूजा गरे हुन्छ। जिन्दगीभर गरेको पाप बागमतीमा गएर नुहाएपछि पखालिएको मानिन्छ अनि यस्तो सजिलै पखालिने पाप फेरि किन नगर्ने! 

गौदान गर्न गाई नै चाहिन्न, पैसोलाई मान्न पाइन्छ। कतिले यत्रो पतन धर्म संस्कृति मान्न कडाईं नगरेर हो ‘धर्म संस्कृतिलाई माने पो विकास हुन्छ’ भन्छन्। दालभात तरकारीलाई संसारको सबैभन्दा पोषणयुक्त खाना मान्ने अनि गुन्द्रुकलाई राष्ट्रिय स्वाद मान्ने हाम्रो संस्कृति हो।

हाम्रो निजामती सेवा ‘मान्ने’ निजामती सेवा हो। निजामतीतर्फ यो ‘मान्ने’ भन्ने ठूलै चलखेलको बिषय हो। त्यहाँ पदलाई बुद्धिमान् मान्ने चलन छ, त्यहाँ टिप्पणी लेखनलाई साहित्य मान्ने चलन छ। 

बढुवाको बेलामा कुन डिग्रीलाई मान्ने कुनलाई नमान्ने भन्ने शब्द खेल हुन्छ त्यहाँ र अर्काको अङ्क घटाइन्छ। जस्तोः निजामती सेवा नियमावलीमा बढुवाको लागि फर्स्ट डिभिजनलाई १.५, सकेण्डलाई १ र थर्डलाई ०.५ नम्बर र डिभिजन नखुलेकोलाई सेकेण्ड डिभिजन मान्ने नियम थियो (नम्बर ठ्याक्कै याद भएन)। एक जनाको डिस्टिङ्शन आएको रहेछ, अब डिस्टीङ्शन I, II, III कुनै पनि डिभिजन नभएकोले त्यसलाई II डिभिजन मानिएछ र १ नम्बर मात्र दिइयो रे।

हाम्रो बौद्धिकता ‘मान्ने’ बौद्धिकता हो। यसले धेरैलाई बुद्धिमान् हुँ भनेर देखाउने अवसर जुटाइदिएको छ। कोरोनामा कसरी मान्ने दसैँ भनेर सबैले अर्ति दिन पाएका छन्, कतिले त आफैले आफैलाई बुद्धिजीवी मानेर पार्टीको बुद्धिजीवी, पार्टी-रक्षक बुद्धिजीवी, स्वतन्त्र वाम बुद्धिजीवी, स्वतन्त्र प्रजातान्त्रिक बुद्धिजीवी, बुद्धिजीवी परिषद्को सदस्य, गाली-बुद्धिजीवी... भन्ने परिचय दिन पाएका छन्, अरूले मानेका पनि छन्। बुद्धिजीवीले आफूलाई ज्योतिष नै मान्छन् र बेला–बेलामा भविष्यवाणी पनि गर्छन् – नेपालदेखि अमेरिकासम्मकै भविष्यबारे।

अन्त्यमा मलाई एउटा भनाइ भन्न मन छ– ‘तपाईले नेपालको विकास भएको छैन भन्दैमा म कहाँ मान्छु र! नेपालीहरू गरिब छन् तर अमेरिकीहरू भन्दा पनि सुखी छन्’। ल हुन्छ मानिलिनुस्! कुनै बेला हामीले त हाम्रो संविधान विश्व कै सबैभन्दा राम्रो संविधान पनि त मानेका थियौं।

प्रकाशित मिति: : 2020-11-27 15:47:00

प्रतिकृया दिनुहोस्