मुलुकका निजी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यवसायिक क्षेत्र तरङ्गित छ। यही मङ्सिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्यकालका लागि निर्वाचन हुने भएको छ। यस चुनावमा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल उम्मेदवार छन्। यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार ढकालका चुनावी एजेण्डा र उनको विचारसँग केन्द्रित रहेर गरिएको कुराकानीको केही अंशः
महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ। विगतको आफ्नो भूमिकालाई कसरी हेर्नुभएको छ?
मेरो मूल्यांकन म आफैले गर्ने होइन। अग्रजबाट मेरो कामको मूल्यांकन हुँदै आइरहेको छ। म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो। मलाई लाग्छ, संस्थाले दिएको उपलब्धी अब्बल दर्जामा रहेर पूरागर्न सकेँ भन्ने छ।
यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर पछिल्लो एक उदाहरण रोजगारदाता परिषद्को सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ। लकडाउन अवधिको तलब निर्धारणका विषयमा म आफू नै सो परिषद्को सभापति भएकोले एफएनसीसीआईको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरेँ।
सरकार र मजदुर साथीका प्रतिनिधिसँग बसेर ‘नेगोसिएसन’ गर्नुपर्ने थियो, गरियो पनि। यहाँलाई पनि थाहा छ, यसमा सरकारको निर्णयभन्दा एककदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, जुनकुरा मिडियामा आइसकेको छ। यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रुपमा पनि मैले लिएको छु।
त्यसैगरी दूर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु। हामी अर्थात व्यवसाय क्षेत्रको नीति निर्माण तहमा निजी क्षेत्रको आवाज मुखरित गरेकै छु। महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक मुद्धा र जिल्लाका साथीका गुनासालाई सुल्झाउने प्रयास गरेको छु। यी सबै कामको साक्षी महासङ्घका साथीहरु हुनुहुन्छ। त्यसैले मैले आफ्नो बारेमा आफैले केही नभनौँ भन्ने लागेको हो।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन? यहाँले आफ्नो उम्मेदवारीलाई कसरी पुष्टि गर्नुहुन्छ?
यहाँलाई सर्वविदितै छ, निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो। तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन। जुन बेला मुलुकको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ, त्यस बेला अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभव छन्।
नेपाल उद्योग वाणिज्य महासंघ नेपालको समग्र उद्योग व्यवसायीको प्रतिनिधित्व गर्ने आधा शताब्दीभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो। हो, मेरो उम्मेदवारी देशको यो क्षेत्रले त्यो सम्मान पाउनसक्ने अवस्था दिलाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो। यसका लागि हामीले संघर्ष र संवाद दुबै गर्नुपर्ने हुनसक्छ। म संवादमा बढी विश्वास गर्छु।
आज लडाईं होइन, संवाद गरेर हाम्रा हक खोज्नुपर्छ। हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ। हामीले हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ। त्यसका लागि म र हाम्रो टिमले सशक्त रुपमा काम गर्नेछ। निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ, त्यसलाई व्यवहारमा आत्मसात गर्न सक्ने बनाउनुपर्छ। त्यसैले पनि हामी महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ। यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्रमाथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौँ।
निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इन्जिन हो। यो इन्जिनलाई सञ्चालनमा ल्याउन, सफल बनाउन र यसबाट बढीभन्दा बढी लाभ लिनसक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ। मैले यही महसुस गरेर राज्य र निजी क्षेत्रबीच हातेमालो हुनु आवश्यक छ, भनेको हो। हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ। ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ। एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ। हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ। यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास हुनेछ। यसैले हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ।
अर्काे कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्लानगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु। यहाँले देखि रहनुभएको छ, म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको एक मात्र पदाधिकारी हुँ भन्दा गर्व लाग्छ । मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीलाई म विश्वास दिलाउन चाहन्छु।
नगरपालिकाको व्यवसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागी गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ। हामीले पहिले पनि भनेका छौँ, गाउँ–गाउँमा उद्यमशीलताको विकासका लागि अरु पहलका अतिरिक्त एक गाउँ, एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ। त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ।
यी र यस्ता अनेकन समस्या छन् हाम्रा। यसमाथि पछिल्लो समयमा फेरि कोरोना महामारीले समग्र मुलुकको उद्योग र व्यवसाय क्षेत्रलाई सबैभन्दा बढी मारमा पारेको छ। हामी इतिहासमा यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य छौँ। मैले यी विचार यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ। अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन।
यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो। यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग व्यवसाय क्षेत्रमा हामी मुलुकका सबै व्यवसायी साथीलाई बलियो काँध चाहिएकोले उहाँहरूले मलाई अघि सार्नुभएको हो। त्यसैले म नेतृत्वमा पुगेपछि मुलुकका यी समग्र समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता यहाँ व्यक्त गर्न चाहन्छु।
निर्वाचनमा तपाईंको टिमले विजय हासिल गर्ने बलियो आधार के हो ?
हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसाय क्षेत्रको अनुभवले खारिएको टीम हो। मलगायत उहाँहरू सबैमा यो क्षेत्रका लागि र यसमार्फत मुलुकका लागि केही गरौँ भन्ने उत्साह छ।
युवा जोशदेखि दशकौँ लामो व्यवसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ। व्यवसायिक होस कि भौगोलिक या अरु नै हिसाबले किन नहोस्, हाम्रो टिम बढी समावेशी छ र यसले व्यवसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ। उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ।
यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ–नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या ‘पोलिसी डायलग’ गर्न पनि यो टिम सक्षम र सशक्त छ।
हाम्रो मान्यता पनि के हो भने महासंघमा ‘रियल स्टेकहोल्डर’ले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो। जस्तो हेरौँ न, हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेवलमा व्यवसाय गरेकाको प्रतिनिधित्व छ। जस्तो कि राज्यले दिने सिआइपी सम्मान पाउने नै हामी चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना छौँ । यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो ।
हाल कोरोना महामारीले देशको उद्योग व्यवसाय संकटमा छ । यस्तो बेलामा मुलुकको समग्र व्यवसाय क्षेत्रलाई पुनस्र्थापनाका लागि यहाँ र यहाँको टिमले के कस्तो पहल गर्नुहुन्छ ?
हो, यतिखेर महामारीले देश आक्रान्त छ। मलाई लाग्छ। उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ। इतिहासमा यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न हामी बाध्य छौँ । अझै पनि महामारीले कुन रूप लिने हो स्पष्ट छैन। त्यही कारण सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो।
वास्तवमा कुनै पनि क्षेत्रका लागि यस्तै संकटको बेला बलियो नेतृत्व चाहिने हो। हामीले बेला–बेलामा भन्ने गर्छौँ नि नेतृत्व भनेको संकटको सारथि हो भनेर। हो, हामी त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदैछौँ। यहाँले भन्नुभएजस्तै पछिल्लो समयमा महामारीले पनि हामीमाथि अकल्पनीय चुनौती थपिदिएकोले त्यसको ट्याकल गरी देशको उद्योग व्यवसाय क्षेत्रलाई राहत प्रदान गर्न र अहिलेको अवस्थालाई माथि उठाउन पनि हामीसँग कार्ययोजना छन्।
हामीले ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौँ, हामी त्यसैमार्फत अघि बढ्छौँ। त्यसमा कारोना महामारीका कारण देशको उद्योग व्यवसायका क्षेत्रमा सिर्जित समस्याको समाधानका प्रसस्त कार्यक्रम छन् ।