सोलेडाँडामा शहीदोद्यान

पर्यटकीय गन्तव्यस्थल सोलेडाँडामा शहीदोद्यानले नयाँ आकर्षण थप्ने भएको छ। गत वर्षदेखि बनाउन थालिएको उद्यान यसपाली पूरा गर्ने लक्ष्य छ। 

तमानखोला गाउँपालिका–४ मा निर्माणाधीन उद्यानमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराजशास्त्री र दशरथ चन्दको सालिक राखिनेछ।
    
यस्तै १० वर्षे सशस्त्र सङ्घर्षमा तमानखोलाबाट शहादत प्राप्त गर्ने चार जनाकोसमेत सालिक राख्ने गाउँपालिकाको योजना छ। वडाध्यक्ष उदीमबहादुर छन्त्यालले गत आवमा रु पाँच लाख बजेटबाट उद्यानका लागि जग्गा छनोट, घेराबार, विश्रामस्थललगायतका संरचना बनाइएको जानकारी दिए। 
    
गाउँपालिकाले चालू आवमा उद्यानका लागि रु सात लाख बजेट छुट्याएको छ। 'यो वर्ष सालिक राख्ने, बगैँचा बनाउने काम हुन्छ' उनले भने। उद्यान वरिपरिको क्षेत्रमा पनि पर्यटनमैत्री हिसाबले संरचना बनाइने उनको भनाइ छ।

शौचालय र खानेपानीको प्रबन्ध यसअघि नै गरिएको छ। पूर्वाधार खडा गर्दा स्थानीय स्रोत र सीपको प्रयोग गरिने भएको छ। शहीदको सम्मानमा उद्यान बनाउन लागिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए। 

'सोलेडाँडाको पर्यटकीय विकासमा शहीद उद्यान पनि जोडिएको छ', उनले भने, 'आगामी पुस्तामाझ पनि शहीदको योगदान र स्मृतिलाई चीरस्थायी बनाउन उद्यानले सघाउँछ।'

 २६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ। हिमशृङ्खला र सूर्योदय/सूर्यास्त अवलोकनका लागि उपयुक्त गन्तव्य हो सोलेडाँडा। चैत र वैशाखामा ढकमक्क लालीगुँरास फुल्दा सोलेडाँडाको सौन्दर्य अझ खुल्छ। सडकको सहज पहुँचले पछिल्लो समय त्यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ। वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस त्यहाँ पुग्छन्।

गाउँपालिकाले काठेखोला गाउँपालिकाको घोडाबाँधे हुँदै ताराखोला गाउँपालिकाको डुडेलेक–सोलेडाँडा–बयलीको धुरी–पुथाले खोलेको ताल–मालिका–नौडल्ले हुँदै ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययनसमेत थालेको छ।

म्याग्दीको मालिका गाउँपालिका–४ को सीमामा पर्ने सोलेडाँडामा दुवै जिल्लाकोतर्फबाट सजिलै आवतजावत गर्न सकिन्छ। बागलुङ सदरमुकामदेखि ११५ किमीको मोटर यात्रापछि सोलेडाँडा पुग्न सकिन्छ। म्याग्दी सदरमुकाम बेनीदेखिको दूरी अझै कम पर्छ। सडक पुगे पनि अन्य पर्यटकीय पूर्वाधारको भने कमी छ। रासस 

प्रकाशित मिति: : 2020-11-23 15:11:00

प्रतिकृया दिनुहोस्