आलटालमै बित्‍ने भयो शैक्षिक सत्र !

बाह्रखरी

काठमाडाैं

काठमाडौं । नरेश रोकाया दुई वर्षअघि छोरा, पत्‍नी र भाइसहित दैलेखको नौमुलेबाट काठमाडौं आए । छोरा र भाइलाई काठमाडौंस्थित सरस्वती माध्यामिक विद्यालयमा भर्ना गरिदिए । छोरा ४ कक्षामा पढ्छ भने भाइ ९ मा । दैलेखमा विद्यालय पुग्नै १ घण्टा बढी लाग्थ्यो । आफूले कक्षा ८ सम्म पढे पनि छोरालाई भने राम्ररी नै पढाउन चाहन्थे उनी । तर कोरोना महामारी सुरु भएयता नरेशका १० वर्षे छोरा दीपेन्द्र र भाइ घरमै छन् । असोजपछि सातामा एकपटक छोरा विद्यालय जाने गरेको उनले सुनाए । अरु दिन दीपेन्द्र घरमै बस्छ । नरेश भन्छन्, “खोइ पढ्छ कि खेल्छ केही थाहा छैन । म र बूढी बिहानै काममा जान्छौँ, साँझ फर्कन्छौँ ।” नरेश र पत्‍नी दुवै ज्यामी काम गर्छन् ।

चैत ११ देखि सुरु भएको पटक-पटकको लकडाउन र सटडाउनमा नरेश घरमै थिए । विगत २० दिनदेखि भने उनी ग्रिनल्यान्डमा ज्यामीको काम गरिरहेका छन् । दिनको उनी ८ सय कमाउँछन् भने पत्नीले ६ सय । त्यही पैसामा २ हजार भाडा तिर्ने, खाने, पढाउने र गाउँमा भएका बा-आमालाई खर्च पठाइ नरेश गुजारा गरिरहेका छन् । लकडाउनमा सरकारका तर्फबाट उनले एक बोरा चामलबाहेक अन्य कुनै सहायता पाएनन् । 

सरकारले पहुँचका आधारमा ५ वैकल्पिक माध्यमबाट पढाउन विद्यार्थी छुट्याएको छ । जसअनुसार नरेशसँग घरमा टेलिभिजन त छ, तर टेलिभिजनमा पढाइका कुरा पनि आउँछन् भन्ने उनलाई थाहा छैन । भाइको हकमा भने अनलाइनबाट पढाइ भइरहेको छ । तर उनीसँग घरमा इन्टरनेट छैन । त्यसो त घर पुगेर पढाइ के कस्तो भयो सोध्ने मेसो पाउँदैनन् उनी । यो नरेशको मात्रै समस्या होइन, यहाँ नरेशजस्ता कैयौँ अभिभावक छन्, जो गाउँबाट सहर छोराछोरी पढाउन र कमाउन राजधानी आएका छन् ।

प्रकाशित मिति: : 2020-11-23 10:25:00

प्रतिकृया दिनुहोस्