मलाई दुईवटा कुराले बढो रोमाञ्चक बनाउँछ। पहिलो कसैले खरर अंग्रेजी बोल्दा र दोश्रो टाई लगाएको मान्छेको गतिविधिले। अनेकौं प्रयास गर्दा पनि मैले आजसम्म न त अंग्रेजी बोल्न सके न त राम्रो सँग बुझ्न नै सक्छु। बच्चा हुँदा टाइ लगाउन पर्ने स्कुलमा पढ्न पाइएन र ठूलो भएपछि पनि सायद टाइ लगाउने हैसियत बनाउन नसकेर हो, जिन्दगीमा टाइ भिर्ने मौका नै आएन।
सम्भवत यो जिवनमा म यो दुइवटै काम गर्न सक्दिन वा त्यस्तो मौका मेरो जीवनमा आउँदैन होला जस्तो लाग्छ। उसैपनि सबैलाई सोचे जस्तो कहाँ पुग्छ र भनेर चित्त बुझाउँन विवस छु।
अंग्रेजीमा फरर्र बोल्न र बुझ्नु धेरै टाढाको कुरा भयो। दश कक्षाको अंग्रेजी पुस्तकमा भएको पाठ ‘हाउ भैरब सेभ्ड राम सिंह लाइफ’ मा मैले बुझेको दुई मात्र शब्द थिए, भैरब र राम सिंह। उमेर बढ्दै गयो र दौंतरीहरुसहित आफू पनि ठूलो हुँदै गइयो। सँगैका साथी हवाई जहाजमाथि म भेडी गोठालो भनेको जस्तो कालान्तरमा साथीभाई सबै अंग्रेजी पनि बोल्ने भए र टाइ लगाउने हैसियतमा पनि पुगे। म उनीहरुको तुलनामा पढाइमा निकै पछाडि परे र टाइ लगाउने हैसियतमा पुग्ने त कुरै भएन, बढो मुश्किलले साउँ अक्षर चिन्न र आफ्नो नामसम्म लेख्न सक्ने अशिक्षितसँग अरुले अंग्रेजी बोल्ने कुरा पनि भएन र उनीहरुले बोलेका भए पनि मैले जवाफ दिन सक्ने थिएन।
म सानो ए बि सी डी भन्दा ठुलो ए बि सी डी कति बर्षले ठुलो अर्थात् जेठो छ होला भन्ने कुरा मै अलमल हुने गर्छु। मलाई राम्रोसँग दखल भएको अंग्रेजीका दुई शब्दमा "यस" र "नो" मात्र हो। मेरा अंग्रेजीबाज मित्रका अनुसार कुनै सेतो छाला भएको मान्छे (चलनचल्ती को भाषा मा खैरे) ले हाँसेर बोल्यो भने यस भन्ने र अलि गम्भीर वा रिसाएर बोल्यो भने नो भन्दा हुन्छ भनेको कारण म त्यही दुई शब्द मात्र अत्याधिक प्रयोग गर्छु। यसको साथै म आफ्नो कुकुरसँग पनि अंग्रेजी बोल्छु। मिले पनि नमिले पनि बोल्न पाइने, ब्याकरण नमिल्दा पनि कुनै प्रतिक्रिया नआउने र समग्रमा कुनै जवाफ नआउने कारण मलाई कुकुरसँग अंग्रेजी बोल्न सहज छ। मेरो कुकुरलाई पनि सायद मेरो कमजोर अंग्रेजी भाषाको ज्ञानको बारेमा जानकारी छ जस्तो लाग्छ। उसँग "कम कम" र "गो गो" मात्र भन्दा पनि पुग्छ।
अब प्रसंग टाइको। मैले पढ्ने काठमाडौँ लैनचौरस्थित श्री शान्ति विधा गृह माध्यामिक बिधालयमा बिधार्थीलाई टाइ लगाउनु पर्थेन अर्थात टाइ अनिवार्य थिएन। टाइको मात्र के कुरा गर्नु सायद त्यो मेरो स्कुलमा त्यति बेला कट्टु लगाउन पनि अनिवार्य थिएन होला। जसले जे लगाउँथे त्यो सबै ऐच्छिक थियो। बच्चैदेखि टाइ लगाउनु पर्ने स्कुलमा पढेको भए मैले पनि घांटीमा मज्जाले टाइ कस्ने थिए, सिङ्गल नट र डबल नट भन्दै।
कुन समयमा कस्तो रङ्गको टाइ लगाउने र कस्तो नट कस्ने भन्ने छुट्टै बिज्ञान भए पनि हाम्रो समाजमा भने टाइ कस्ने भनेको फगत एउटा औपचारिकता मात्र हो, जसमा धेरै जस्तो टाइबाज नराम्रोसँग चिप्लेका छन्। यस्तो जानकारी उनीहरुलाई छ वा छैन, त्यो मलाई थाहा भएन। तर प्राय: उनीहरु सबैको मैले टाइ कसेको छु, जसको कारण समाजको अगाडि सभ्य र जानकार देखिएको छु भन्ने भ्रममा छ्न्।
आफ्नो नाम र थरको बीचमा 'जंग’ लेख्न रुचाउने एक मान्यवर थिए, मेरो घर नजिक डेरा लिएर बसेका। प्राय: टाइ सुटमा रहने उनी सधै एउटा ठूलो ‘प्रोजेक्ट’ मा काम भइरहेको र यो काम हुने वित्तिकै आफू लाखौ–करोडौंमा खेल्न सक्ने बताउँथे। टाइ लगाउने मान्छेले भनेको कुरामा आँखा चिम्लेर विश्वास गर्नु मेरो कर्तब्य थियो। किनकी टाइ भिर्ने मान्छे मेरो दृष्टिमा उच्च कोटीको मान्छे हुन्थ्यो। उनी मलाई मान्छे वा उद्योगलाई बैंकले ऋण दिएको जस्तो आफूसँग देशलाई नै ऋण दिन सक्ने मान्छे भएको र त्यसको कमिसन नै अर्बमा हुने लोभ देखाउँथे। म पनि वाल्ल परेर उनको कुरा सुन्थे र उनले कमाएको अर्बबाट केही अंश पाउने आशामा मनको लड्डु घ्युसँग मिसाएर खान मस्त थिए। एकदिन उनले मलाई ठमेलस्थित एउटा निम्नस्तरको हरियो पर्दावाला भट्टीमा बोलाए र यही हो ऋण दिने मान्छे भनेर एउटा कालो वर्णको धम्मर्धुस भारतीयमूलको मान्छेसँग परिचय गराए।
त्यसपछि मलाई लाग्यो, यस्तो गए गुज्रेको भट्टीमा पाँच रुपैयाँ ग्लासको ठर्रा पिउनेले के ऋण देला र? यसबाट ती मान्यवरले के कति कमिसन पाउँलान र? पाएको कमिसनबाट पनि मैले के छ्याकन पाउँला भनेर। त्यसपछी मलाई उनी र उनको टाइसँग मोह भंग भयो।
मलाई अंग्रेजी बोल्ने र टाइ कस्ने रहर अहिले पनि छ र त्यसको मोह खासै घटेको छैन। तर कहिले काहीँ आशा गरेको बस्तु बाट निराशा हुँदा दु: ख लाग्नु स्वभाविक हो। यद्वपि मैले अंग्रेजी बोल्ने र टाइ लगाउने हैसियतमा पुग्ने कुरामा भने कसैले पनि विश्वास नगर्दा हुन्छ। सबै ढुक्क भए हुन्छ– मेरो जीवन अंग्रेजी भाषा र टाइ बिना नै बित्ने छ।