नियुक्ति भएको तीन दिनमै राजीनामा गरे बिहारका शिक्षामन्त्रीले

गत सोमबार शपथ लिएका बिहारको शिक्षामन्त्री मेवालाल चौधरीले राजीनामा दिएका छन्। 

उनले बिहीबार आफ्नो पदभार सम्हालेसँगै राजीनामा दिएका हुन्।

बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठबन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए।

सहायक प्राध्यापक तथा जुनियर वैज्ञानिकको नियुक्तिमा अनियमितताको मुद्दाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन्। एनडीएले यो निर्वाचनमा अपराध, भ्रष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो। 

सोही मुद्दा उठाउँदै विपक्षीले चौधरीलाई शिक्षामन्त्री बनाइएकोमा विरोध जनाएका थिए। विरोधपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो।

जेडीयूका प्रवक्ता अजय आलोकले आफ्नो गठबन्धनले स्वच्छताको उच्च मापदण्ड पालना गरेको भन्दै विपक्षी दललाई पनि यसको पालना गर्न आग्रह गरेका छन्। 

यद्यपि विपक्षी दलका नेता तेजस्वी यादवले एउटा मात्र राजीनामाले काम नबन्ने बताएका छन्। उनले अझै पनि धेरै विषयहरु सम्बोधन गर्न बाँकी विषयहरु रहेको उल्लेख गरे।

प्रकाशित मिति: : 2020-11-19 18:59:00

प्रतिकृया दिनुहोस्