दाहाल-नेपालसँगको टसलमा जब ओलीले यी ‘कार्ड’ गुमाए

नेपाल खबर

काठमाडाैं

सत्तारुढ नेकपाभित्रको विवादको उत्कर्षले पार्टी नै विभाजनको डिलमा पुगेका बेला बुधबार बसेको सचिवालय बैठकले अर्को बैठक १० दिन पछिका लागि तय गरेको छ।

जे होस्, बुधबार नै सचिवालयको बहुमत पक्षको मात्रै बैठक बस्ने वा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन सहज बनाउन फेरि अध्यादेश जारी गर्न सफिारिश गर्ने हल्लाले नेकपाभित्र बढाएको तनाव साँझसम्म आइपुग्दा मत्थर भएको छ।

प्रधानमन्त्री ओली पक्षले १० दिनको यो अवधीलाई विवाद मिलाउने ‘कुलिङ पिरियड’ का रुपमा अथ्र्याएको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले ‘समय लम्ब्याउने खेल’ भनेका छन्।

अबका १० दिन नेकपाभित्र तातेको विवाद केन्द्रीय सदस्य गोकुल बास्कोटाले भने झैं ‘कोल्ड वार’ का रुपमा चल्ने देखिन्छ। यसबीचमा दुई पक्षीय वा त्रिपक्षीय सहमति भएन र दाहालले कात्तिक २८ गतेको बैठकमा प्रस्तुत गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता लिएनन् भने मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले त्योभन्दा दोब्बर लामो ‘काउन्टर’ प्रस्ताव प्रस्तुत गर्ने चेतावनी दिएका छन्।

दाहाललाई चेतावनी स्वरुप ईश्वर पोखरेलको भनाइ बाहिर आएको छ, ‘तपाईंले उठाएका एक एक सवालको जवाफ पाउनु हुनेछ।’

ओलीले अर्को प्रस्ताव ल्याए भने त्यसले प्रचण्डको प्रस्तावलाई ‘डिफ्युज’ गर्छ वा दुई प्रस्तावले नेकपा विभाजनको बाटो खोल्छ भन्ने कुरा १८ गते बस्ने स्थायी समिति र २५ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकले तय गर्नेछ। टसल बढ्दै गयो भने बुधबार तोकिएका बैठक पर सर्न वा बस्दै नबस्न पनि सक्छन्।

प्रकाशित मिति: : 2020-11-18 20:38:00

प्रतिकृया दिनुहोस्