दलित समुदायका बालबालिकालाई शैक्षिक सामाग्रीसहित स्कुल ड्रेस वितरण

पर्साको पकहामैनपुर गाउँपालिकाले दलित समुदायका बालबालिकालाई शैक्षिक सामाग्रीसहित स्कुल ड्रेस वितरण गरेको छ । 

गाउँपालिका अध्यक्ष विजय चौरसियाले गाउँपालिका अन्तरगतका वडा नं।.१ धोरे , वडा नं. पकहामैनपुर र वडा नं. ४ खेश्राहाका डोम , मुसहर समुदायका १ सय १० जना बालबालिकाहरुलाई बेग, ६ थान कापी, ६ थान पेन्सिल, जुतामोजा र २ सेट स्कुल ड्रेस वितरण गरेका हुन। 

दलित समुदायका बालबालिकाहरु आर्थिक विपनन्नताका कारण स्कुलबाट बन्चित हुने गरेकाले उक्त समुदायको बालबालिकालाई शिक्षामा प्रेरित गर्न शैक्षिक सामाग्री लगायत स्कुल ड्रेस वितरण गरिएको अध्यक्ष चौरसियाले बताए। 

शैक्षिक सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष विजय चौरसियाले गरिब, दलित र आर्थिक रुपले विपन्न बालबालिकाहरुको लागि आफूले एकदम सहयोग गर्दै जाने प्रतिबद्दता जनाए। 

गाउँपालिका अध्यक्ष चौरसियाले आर्थिक अभावमा अब गाउँपालिका अन्तरगतका कुनै पनि बालबालिका शिक्षाबाट बन्चित हुन नसक्ने उदघोष गरे।

आफूले हरेक वर्ष गरिब, दलित र जेहेन्दार विद्यार्थीहरुको पढाइको लागि गाउँपालिकाको तर्फबाट शैक्षिक सामाग्री, जुतामोजा लगायत आवाश्यक आर्थिक सहयोग गर्ने अध्यक्ष चौरसियाले बताए। 

शैक्षिक सामाग्री लगायत स्कुल ड्रेस पाएपछि खेश्रहाका मदन माझीले भने ,‘हामीलाई खान लाउन धौधौ हुन्छ। कापी कलम किन्न पैसा हुँदैन गाउँपालिकाको यस्तो सहयोगले आफ्नो नानीबाबुलाई पढाउन हौसला प्रदान भएको छ ।’ 

गाउँपालिकामा जती बजेट आएपनि रोड र नालामा मात्र नेताहरु खर्च गर्छन, गरिबको छोराछोरी पढाईमा कसैले सहयोग गरेका छैनन्, गाउँपालिका अध्यक्ष विजय चौरसियाले हाम्रो छोराछोरीका पढाइका लागि धेरै सहयोग गर्नुभयो खेश्रहा मसहर बस्तीकी अनिया माझिनले भनिन्। 

शैक्षिक सामाग्री वितरण कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष मदन साह कानु , वडा नं ४ का वडाध्यक्ष ढेडीप्रसाद यादव, स्थानिय पत्रकार विन्दु भुषण साह लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2020-11-18 12:52:00

प्रतिकृया दिनुहोस्