काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउँदको गस्तीमा गएका बेला कात्तिक १ गते राति हत्या भयो । असई विकको शव घटना भएको भोलिपल्ट बिहान मोहना नदीमा फेला परेको र त्यसको दुई दिनपछि प्रहरी जवान साउँदको शव पनि मोहना नदीमै फेला परेको थियो ।
हत्यामा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर हत्यामा संलग्न एकजना भने फरार छन् । प्रहरीले यो घटनामा सर्वाधिक खोजी गरेका पात्र हुन् धनगढी उपमहानगरपालिका १०, चकमलीका करिब ३५ वर्षीय सुकबहादुर राना भनिने अमर राना । घटनाको दिन सुरुमा उनैले प्रहरीमाथि आक्रमण गरेको खुलेको प्रहरी अधिकारी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) अनुपमशमशेर जबरा अभियुक्त रानाको खोजी भइरहेको बताउँछन् । उनले भने, “अब राना मात्रै पक्राउ पर्न बाँकी छन् । अनुसन्धानमा घटनामा उनको संलग्नता पाइएको छ । उनी भारतमा लुकेको सूचना छ । यसका लागि हामीले आवश्यक समन्वय गरिरहेका छौं ।”
उनको खोजीका लागि प्रहरीको टोली परिचालन भएको छ । राना भने घटना भएकै रातिदेखि फरार छन् । उनको खोजीका लागि कैलाली र कञ्चनपुरका थुप्रै स्थानमा छापा मारिसकिएको छ ।
राना लामो समयदेखि भारतको वनकट्टी र सलियापारबाट नेपालमा अवैध सामान र नेपालबाट अवैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।