‘सिकिस्त बिरामी निको भएर फर्किंदा सबैभन्दा धेरै खुशी मिल्छ’

थाहा खबर

काठमाडौँ
Breaknlinks
तस्बिर : थाहाखबर

अतिन आचार्य

फ्रन्टलाइनमा काम गर्नेहरू जारी कोरोना महामारीबाट सबैभन्दा बढी जोखिममा छन्। चिकित्सक, सुरक्षाकर्मी, सफाइ कर्मचारी र सञ्चारकर्मीहरूमा बढी मात्रामा संक्रमण देखिएको छ। सबैजना कोभिडको त्रासमै पनि आ-आफ्नो कार्यक्षेत्रमा काम गरिरहेका छन्।

कोरोनाले विश्वभर लाखौं मानिसको ज्यान लिइसकेको छ। आफूले काम गरेको अस्पतालमा कोभिड संक्रमितको उपचार गर्ने घोषणा गर्दा सबै चिकित्सकको मनमा डर पस्नु स्वाभाविक हो।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. वसन्त बास्तोला पहिलो दिनदेखि संक्रमितको उपचारमा संलग्न छन्। अस्पतालमा हज्जारौं संक्रमितको उपचार भइसकेको छ।

अस्पतालमा केही संक्रमितले मृत्युवरण पनि गरेका छन्। दैनिकजसो संक्रमितहरू भर्ना हुन्छन्। केहीको स्वास्थ्य अवस्था ठिकै भएर आउने गरेको र कोही भने शरीरमा अक्सिजन कमी भएपछि आउने गरेको उनी सुनाउँछन्।

पहिलोपटक कोरोना संक्रमितको उपचार गर्नुपर्छ भन्दा उनलाई डर लागेको थियो। कोभिड संक्रमितको उपचार गर्नु पर्दाको क्षण स्मरण गर्दै उनी भन्छन्, 'सबैतिर कोरोना लागेर मानिसको मृत्यु भइरहेको छ, हामी पनि कतै मृत्युको सूचीमा त पर्दैनौँ ? भन्ने त्रासले धेरै सताएको थियो, बानी भइसक्यो अहिले खासै डर लाग्दैन।'

दुई किसिमका कोभिडका बिरामीहरू अस्पतालमा भर्ना हुने गरेका छन्। गम्भीर अवस्थाका र स्वास्थ्यमा सामान्य सुधार हुने खालका लक्षण भएकाहरू आउने गरेका छन्। बिहानै राउण्ड ड्युटीमा जाँदा बिरामीहरूको मुहारमा हाँसो छ वा छैन, अघिल्लो दिनभन्दा स्वास्थ्यमा कति परिवर्तन आएको छ ? त्यसको मिहिन ढंगले बुझ्ने उनी प्रयास गर्छन्।

'गम्भीर अवस्थाका बिरामी निको हुँदा आनन्द'

'सिकिस्त भएर आएका संक्रमितहरू निको भएर घर फर्किंदा सबैभन्दा बढी खुसी लाग्छ,' उनले भने, 'संक्रमण मुक्त भएर जाने संक्रमितले दिएको प्रतिक्रियाले अझ बढी काम गर्नलाई उर्जा मिल्छ।'

गम्भीर अवस्थाका बिरामी भएको ठाउँमा उनको तीन पटक सम्म ड्युटी पारिसकेको छ। पहिलो,दोस्रो भन्दा तेस्रो ड्युटी सबैभन्दा गाह्रो हुने गरेको उनी बताउँछन्। दैनिक अस्पतालमा ड्युटी गर्न जाँदा गम्भीर अवस्थाको बिरामी भर्ना हुने गरेको उनले बताए। नयाँ भर्ना भएका संक्रमितलाई बढी मात्रामा अक्सिजनको जरुरी हुने गरेको छ।

चिकित्सकको जीवन बिरामीको सेवा गरेर समय बित्छ भन्ने लाग्दोरहेछ डा. बास्तोलालाई। वार्डमा पीपीइ लगाएर छिरेपछि बाहिर निस्कँदा बेलुकी ५ बजिसक्छ। उनले एक सिफ्टमा १०० भन्दा बढी संक्रमितलाई हेर्ने गर्छन्। गम्भीर अवस्थाकालाई अक्सिजन र नशाबाट औषधि दिने गरिएको उनले बताए।

 

प्रकाशित मिति: : 2020-11-14 12:27:00

प्रतिकृया दिनुहोस्