दीपक श्रेष्ठ
काठमाडौँ उपत्यकाको दक्षिणी भेगमा ललितपुर छ, शताब्दीऔं पुरानो कोड्कु गाउँ । जुन गाउँलाई अहिले बडिखेल भनेरै चिनिन्छ । यो वस्तीका प्रायः घरमा यतिबेला नाङ्लो बुन्ने चटारो छ ।
पहरी जातिको पुख्र्यौली पेशा हो, बाँसका चोयाबाट डोको, डालो, सोली, नाङ्लो, मान्द्रो बनाउनु । कतिपय पहरीले घरकोठा सजावटका सामान, निगालोका र्याक र बेतका कुर्सीसमेत बनाउने गरेका छन् । यद्यपि, तिहार र छठ नजिकिएसँगै नाङ्लो बुन्ने चटारो वस्तीमा छ । मागअनुसारको सामान समयमै बजारमा पुर्याउने हतारो छ । मोवाइलमा म्युजिक भिडियो हेर्दै नाङ्लीमा बिट लगाउँदै गरेकी मनिषा पहरीले भन्नुभयो, “यहि बेला त हो, नाङ्लो, नाङ्ली अलिअलि बेच्ने । तिहार र छठमा अलि धेरै बिक्री हुन्छ ।”
कात्तिकको आखिरी दिनतिर उपत्यकामा एक्कासि चिसो बढेको छ । घामको न्यानो ताप्दै, गीत सुन्दै आँगनमा नाङ्लो बुन्दै गरेको दृश्य, बडिखेलमा प्रायः देखिन्छ । बडिखेल पस्माकी रविना पहरीले भन्नुभयो, “यो बेला नाङ्गो नै बढी बिक्री हुन्छ ।”
पस्मा गाउँमा विहे गरेर आएपछि हो, रविनाले नाङ्लो बुन्न सिक्नुभएको । यसपटक तिहार र छठमा एक सयवटा नाङ्लो बेच्ने लक्ष्य रविनाको छ । उहाँलाई नाङ्लोको भूँइ नाङ्लोको फराकिलो भाग मात्र बुन्न आउँछ । त्यसैले नाङ्लो उठाउने बीट मार्ने लगायत सामग्री तयार पार्नका लागि पर्मका रुपमा छिमेकीसँग सहयोग लिनुभएको छ । पर्म आउनुभएका स्थानीय धने पहरीले भन्नुभयो, “हाम्रो गाउँमा बाँसका सामान बनाउन पर्म चल्छ । एक दिन एउटाकोमा काम गर्ने, अर्को दिन अर्को घरमा ।”
विशेषगरी तिहार र छठको बेला नेपाली बजारमा नाङ्लोको माग बढ्छ । बजारमा प्लाष्टिकका नाङ्ला पनि प्रसस्त पाइन्छन् । यद्यपि, पाएसम्म चाडवार्डका लागि बाँसकै नाङ्लो खरिद गरिने भएकाले जति उत्पादन गरे पनि बजारमा बिक्री हुन्न कि भन्ने समस्या नरहेको धने पहरीले बताउनुभयो ।