अनि कोरोनाले भन्यो ‘ढ्याप्पा...’

पहिलोपोष्ट

काठमाडौं

शिशिर वैद्य -

संघारमा दाउ कुरेर बसेको कोरोनाले भन्यो, 'ढ्याप्पा।'

भाइ स्वरुप आचार्यको केही समय अघिको ट्विटमा प्रयोग भएको ‘ढ्याप्पा’ शब्दले बाल्यकालका सम्झनालाई एकाएक ताजा बनायो। ‘ढ्याप्पा’ शब्द सानोमा लुकामारी खेल्दा निकै भनियो। निकै पटक ‘ढ्याप्पा’ खाएर 'डुम' पनि भइयो। त्यो खेल थियो ‘ढ्याप्पा’ भनिसकेर डुम फेरिएर खेल चालु रहन्थ्यो। तर, कोरोनाले भनेको ‘ढ्याप्पा’ले दैनिकी भताभुङ्ग पार्दो रहेछ। शारीरिक रुपमा कुनै कडा लक्षण नदेखिए पनि मानसिक तनावको पारो निकै माथि उक्लिँदो रहेछ।

रुघाले ग्रस्त शरीरका चोक्टाचोक्टामा पीडाको अनुभूति हुने बित्तिकै म स्वघोषित आइसोलेसनमा बसेको थिएँ। मनमा शंका थियो - कतै कोरोनाले त भेटेन? तर, विश्वास थियो पक्कै भेटेको छैन। किनभने म त्यस्तो शंकास्पद कसैसँग पनि संसर्गमा आएको थिइन। तर पनि आइसोलेसन रोजेँ। मेरो नजिक आउन सबैलाई बर्जित गरेँ। मैले प्रयोग गरेका भाँडाहरु छुट्टै राखेँ। हरेक पटक बाथरुम प्रयोग गरेपछि धारा, बेसिन, कमोड, सिट, हेन्डल मज्जाले फिँज आउने गरी साबुन दलेर सफा गरेँ। झिँझो पटक्कै मानिन। रुघाले आफ्नो तान्डव देखाइरहेकै थियो।

शरीरको पीडा घट्न मानिरहेको थिएन। औषधीको असर छउन्जेल गाथमा आराम महसुस हुन्थ्यो। असर कम हुनथालेपछि छटपटी। स्वघोषित आइसोलेसनको पाँचौं दिन अचानक श्रीमती र छोरालाई हनहनी ज्वरो आयो। पानीपट्टि नै लगाउनु पर्नेगरी। १०१, १०२ फरेनहाइट तापक्रम।

ज्वरो जाँचक यन्त्रले यसभन्दा तलको संकेत दिन मानिरहेको थिएन। लगभग १८ घण्टा पछि बल्ल ज्वरोले बाटो ततायो। श्रीमती र छोरालाई ज्वरो आउने बित्तिकै मनमा शंका पस्यो। हो न हो पक्कै भेट्यो कोरोनाले। छोरीमा कुनै लक्षण थिएन। त्यसैले उसलाई छुट्टै राख्नु आवश्यक देखेँ। त्यसैले आफू आइसोलेसन बसेको कोठालाई स्यानिटाइजरले मज्जाले पुछपाछ गरेर बिछ्यौनालाई घामको रापमा सेकाएर छोरीका लागि कोठा तयार पारियो। अब तीन जना एकातिर छोरी अर्कोतिर। तीन दिन यसरी नै बिते। घाँटीमा सनासोले च्यापेसरी पीडा थियो। थुक निल्न पनि गाह्रो। क्षण क्षणमा तातो पानी र सुपको पेलाई दिइयो गलेको शरीरलाई। पिसीआर परिक्षण नगरिकनै पार पाउँछु भन्ने थियो मनमा। तर, सबैको दबावको अघि केही नलागेर घटस्थापनाको बिहान स्वाब परीक्षणका लागि दिएँ।

ट्वाँग!

घाम निदाइसकेपछि अन्धकारको मौका छोपेर कोभिड–१९ पीसीआर टेस्ट रिपोर्टसहित मोबाइलमा मेसेजको घण्टी बज्यो। मेसेजमा लेखिएका अन्य कुरा भन्दा पहिल्यै अल क्याप्समा लेखिएको पोजेटिभले शरीरमा अर्कै तरङ्ग पैदा गर्‍यो। पहिलो मेसेजमा आफु पोजिटिभ देखेँ, दोस्रो हेरेँ श्रीमती पनि पोजिटिभ। छोराको त नेगेटिभ आवस् भन्ने कामना सहित तेस्रो मेसेज खोल्दा मन निराश भयो। तीनै जना पोजिटिभ। दिमाग शून्य भयो। मन अशान्त। हातखुट्टा अचानक लुलो।

अब के गर्ने? खानाको चाँजोपाँजो कसरी मिलाउने? अरु भन्दा पनि मुख्य समस्या शौचालयको थियो। एकै फ्ल्याटमा सबै बस्ने हुँदा सबैको कन्याक्ट ट्रेसिङ गर्नैपर्ने भयो। भोलिपल्ट बाँकी चार जनाको स्वाब लिन घरमै मान्छे बोलाइयो। पर्सिपल्ट अर्थात् घटस्थापनाको तेस्रो दिन बिहानै रिपोर्ट आयो, उसै गरी - ट्वाँग!

यसपटकको ट्वाँगले परिवारका सबैको मन विचलित बनायो। चार जना मध्ये दाइ र आमाको रिपोर्ट पनि पोजिटिभ देखियो। अर्थात् सात जनाको परिवारमा हामी पाँच पोजिटिभ।

प्रकाशित मिति: : 2020-11-11 11:30:00

प्रतिकृया दिनुहोस्