ब्याडमिन्टन सामग्री खरिद अनियमितता छानविन : चारजना दोषी, श्रेष्ठसँग ५ लाख बढी असुल्न सिफारिस (दस्तावेजसहित)

नेपाल खबर

काठमाडाैं

गतवर्ष नेपालमै आयोजना गरिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली ब्याडमिन्टन टोलीको लागि सामान खरिदमा भएको अनियमिततामा चारजना दोषी देखिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य गोविन्द भट्टराइको संयोजकत्वमा गठित छानविन समितिले २३ जनासँग गरेको बयानसहितको अध्ययनका आधारमा चारजनालाइ दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो। 

समितिले राखेपको भण्डार तथा आपुर्ति शाखाका प्रमुख बज्रबहादुर केसी, १३औं साग सचिवालयका प्रमुख कमल खनाल, आर्थिक प्रशासन शाखाका प्रमुख ऋषिराम पोखरेल र राखेपका पूर्वअधिकृत समेत रहेका नेपाल ब्याडमिन्टन संघका पूर्व महासचिव लवभक्त श्रेष्ठलाई दोषी मान्दै कारवाहीका लागि सिफारिस गरेको छ।

समितिले डेढ महिना छानविन गर्दै राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको थियो।

समितिले श्रेष्ठसँग ५ लाख ४० हजार रुपैयाँ असुल गर्न सिफारिस गरेको छ। खेलाडीमाथि अन्याय गरेको भन्दै उनलाई ५ वर्षसम्म खेलकुदसम्बन्धी कुनै पनि संस्थामा रहन अयोग्य हुनेगरी कारवाही गर्न पनि समितिले सिफारिस गरेको छ।

सागको प्रतिस्पर्धामा रहेका खेलाडीले जुत्ता नपाएको तर जुत्ता खरिदका लागि सो बराबरको रकम श्रेष्ठले लिएको हुँदा उनले पठाएको २ लाख १६ हजार रुपैयाँ जफत गरी २७ जोर जुत्ताको १० हजारका दरले २ लाख ७० हजार जरिवानासहित रकम असुल्न समितिले राखेपलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति: : 2020-11-10 20:47:00

प्रतिकृया दिनुहोस्