२००७ साल असारमा मेरो दोस्रो विवाह भएको थियो । महिना दिनमा मेरी श्रीमतीले गर्भवती भएको लक्षण देखाइन् । मेरा शिरमा गार्हस्थ्य जीवनको बढी बोझ थपिएको अनुभव गरें । यसै भाद्र महिनामा इन्द्रजात्राको दिन रोलबाला राणाहरू हात्ती/घोडा चढी श्री कुमारीको रथ पछिल्तिर जुलसमा सामेल हुँदा तिनीहरूको संहार गर्ने उद्देश्य लिई भारतबाट नेपाली कांग्रेसका सुन्दरराज चालीसे, दिलमान राईसमेतलाई नेपाली सेनाको तोरणशमशेर, नोदविक्रम शाह, बद्रीविक्रम थापालगायत कतिपय अफिसरहरूसमेत आफ्नो समूहमा समावेश गराइसकेका पनि थिए । यो षड्यन्त्रको बेलैमा रहस्योद्घाटन भयो र ती सब कार्यकर्ता पक्राउ परी सिंहदरबारमा अमानवीय यातनाको भागी बन्दै थिए ।
फरार भई गएका गणेशमान सिंहलाई पनि ठोरीको जङ्गलबाट पक्राउ गरी काठमाडौं ल्याइयो । ९७ सालमा जस्तै अब पनि शङ्कास्पद सबको धरपकड हुन थाल्यो । म पनि २/३ सालको हिउँदमा कलकत्ता-बनारसका राजनीतिक कार्यकर्ताहरूको सम्पर्कमा रहेकोले ममा पनि शङ्का गरी पक्राउ गर्लान् भनेर मोहनशमशेरको चाकरीमा रुजु भई विजयशमशेरको समेत निकट सम्पर्कमा आई उनीहरूको शङ्काबाट मुक्त हुने प्रयास गर्दै थिएँ ।
इन्द्रजात्रा काण्डमा परेका मानिसहरूलाई मुड्ने, ज्यान सजाय दिने फैसला गरी लालमोहरका लागि श्री ५ त्रिभुवनमा जाहेरी हुँदा मौसुफद्वारा सो लालमोहोर बक्सन अस्वीकार भएबाट मौसुफलाई नै गोरखा धपाउने व्यवस्था भयो भन्ने कुरा देवव्रत दास गुप्ता भन्ने डाक्टरमार्फत सुनिबक्सेकोले मौसुफलाई सपरिवार राजदरबार परित्याग गर्ने सिवाय विकल्प रहेन । २००७ कार्तिक ६ गते मौसुफले श्री ५ महेन्द्र, श्री ५ वीरेन्द्र, श्री ५ हिमालय, श्री ५ वसुन्धरालगायत वयस्क राजपरिवार सम्पूर्ण साथ लिई काठमाडौंस्थित भारतीय राजदूतावासमा राजनीतिक शरण लिन सवारी भएपछि नेपालको राजनीतिमा अभूतपूर्व सङ्कटकाल आइपर्यो ।