शरद ऋतु, दसैंतिहारको समय, वातावरण रमाइलो थियो।
यसै पनि मलाई त्यो नीलो आकाशमा सेता बादलका टुक्रा नाचिरहेको हेर्न खुबै मनपर्छ।
स्नातक चौथो वर्षमा अध्ययनरत म लकडाउनले पढाइ बन्द भएलगत्तै घर आएको पनि आठ महिना चल्दै रहेछ।
धेरैपछि घर बस्न पाउँदा रमाइलो लागे पनि भनिन्छ नि धेरै भएपछि गुलियो पनि तीतो हुन्छ त्यस्तै जस्तै आजकल छटपटी हुन थालेको छ।
तर पनि दिनहरू कटिरहेकै छन्।
सधैंजसो हिजो पनि साँझपख पसल बन्द गर्ने बेला हुँदै थियो। म र बाबा आफ्नै घरायसी कुरामा मग्ध थियौं। यत्तिकैमा गाउँको एक भलादमी भनौदा अंकल बाबाछोरीको कुराकानीमा आफ्नो पनि सहभागिता जनाउन आइपुग्नुभयो।
‘छोरी पनि हेर्दाहेर्दै कत्ति ठूली भइन् है दाइ, कति वर्ष पो पुगिन् रे ?’
उहाँको पहिलो जिज्ञासा थियो यो तर अब योपछि आउने उहाँका अनेकौं प्रश्नहरू म सजिलै अनुमान गर्न सक्थें।
बाबाले त्यसको उत्तर दिन पाउँदानपाउँदै अर्को प्रश्न सोधिहाल्नु भयो।
‘पढाइ कहाँसम्म पुर्याइन् कुन्नि, अब के गर्ने सोच्दै छिन् ?’ मनमा यो महामारीका कारण यत्तिका महिना यसै घरमा बस्नुपर्दाको छट्पटी आफ्नै ठाउँमा छ, अझ अंकलका ती प्रश्नले कता कता घोच्न थाल्यो।
फेरि अर्को प्रश्न, ‘अब त दाइ यसो नानीको लागि केटा खोज्नुपर्ने बेला पनि भएछ। कुराकानी आइराखेकै होलान् , के विचार गर्नुभएको छ कुन्नि दाइले?’ यिनी प्रश्न सुन्नासाथ म बाबालाई उछिन्दै आफ्ना तर्क राख्न थालें।
‘कहाँ बिहेको कुरा गर्नु अंकल पढ्दै छु, पढाइ सक्काएर आफूले केही गर्न सक्ने भएपछि पो बिहे गर्ने हो नि, बिहे जस्तो कुरामा हतारिनु भएन नि!’ म यत्ति कुरा के भन्दै थिएँ अंकल जोसिन लाग्नुभयो।