आँखा, नाक कपाल दुरुस्त भएका मन र तन दुई जुम्ल्याहा दिदी बहिनी, बाहिरीलाई खुट्टाउन मुस्किल पर्छ। जीऊ, डाल, हाउभाउ उस्तै लाग्छन्। विचारमा भने दुई ध्रुवतिर फर्केका जस्ता छन्। मलाई साथी बुनुले मन र तनको परिचय यसरी दिइन्।
आफूलाई कसैसँग तुलना गरेको मन नपराउने उनीहरु बाह्र कक्षाका अब्बल लगनशील र परिश्रमी विद्यार्थी हुन्। दुवै घुम्नका सौखिन पनि।। उनीहरुको ‘डेस्टिनेशन’ वन, जंगल, पहाड, नदी नाला तलाऊ अनि ‘भर्जिन गाउँ’।
गाउँ शब्दले मलाई मेरो गाउँ सम्झायो। तराईको जनजीवन, स्कूलबाट आाधाबाटो आइपुग्दा डे«स हातमा लिएर को छिटो घर पुग्छ भन्दै, दौडिन्थ्यौ। हरियो केराऊ तोरिको फूलले लहलह भएका फाँटमा केराऊका कोशा लुकेर टिप्दै खाँदै हास्थ्यौं।
एकपटक एकजना केटा साथीले ‘ए केटीहरु तिमीहरुलाई थाहा छ?’ ‘जव लड्की हसी तब फसी’ हुन्छ नि तिमीहरु धेरै नहास् भनेर हामीलाई हास्न रोकेका थिए। उनको त्यो भाले विचार हाम्रा बाल मस्तिष्कले के थाहा पाउँथे र बरु डरले हास्न हुदो रहेनछ भनेर चुप लागिन्थ्यो। हाम्रो घर अगाडि आँपको बगान थियो। प्रत्येक रुखका आफ्नै नाम थिए। बेल जस्तो बास्ना आउने आपको नाम बेलहवा हुन्थ्यो। बीचमा रातो भएकोलाई सेनुरुवा भनिन्थ्यो। सुगाको जस्तो चुच्चो भएकाको सुगौवा नाम हुन्थ्यो।
आँपको बगैचा छेउछाउमा साना साना पोखरी हुन्थे। लालीमय सूर्यका किरणले छँदा परेका तरेलीलाई समात्न सकिन्छ कि भनेर फगतको कोशीश गथ्र्यौ। पोखरीको डिलमा पाकेर झरेका आँप स्टकमा घुटुमुटु पारेर ल्याउँदाको रमाइलो सायदै त्यसपछि अनुभव गरेँ होला।
तराईको उखरमाउलो गर्मी मौसम, आँपको बगानमा सुगाले ठुंग्दा झरेका ‘पकनारी’ (पाकेको आँपलाई थारु भाषामा) बाल्टिनमा चिसोपानीमा एकछिन डुबाएर चुस्दाको स्वाद अझै ताजा लाग्छ।
आफ्ना विगतलाई संम्झिदै गर्दा झसँग हुँदै मन र तनतिर फर्किएँ। आधुनिक युगका पुस्ता भएपनि घरका काममा आमा बुवालाई सघाउने, कपडा धुने, खेत रोप्ने, विऊ छर्ने उनीहरुको बानीले मलाई लोभ्यायो। गाउँमा हुर्के बढेका भएनि उनीमा रहेको लैंगिक चेतना उदाहरणीय लाग्यो। त्यसको रहस्य बाल्यकालदेखि बुवाले पकाएको खाएर हुर्के। बुवासँगै स्कूल गए। आमालाई बुवाले घरका काममा सघाएको देखे।
बुवाले खाना पकाउँदा आमाले स्कूल ड्रेस धोएको हेरे। आमा बुवाबीच छलफलपछि मात्र निर्णयहरु लिएको थाहा पाए। स्कूलमा साथीहरुसँग भएका अन्तरंग कुराकानी आमाबुवाबीच लुकाएनन्। यसरी किशोराअवस्थासम्म आइपुग्दाका दैनिकीले समान लैंगिक भूमिका बारे थाहा पाउन सघायो।
मलाई मन र तनको दृढ आत्मविश्वाससहित सह–अस्तित्वको बुझाइले मोहनी लगायो। त्यसैले उनीहरुबीचको अन्तरसंवाद सुन्ने जिज्ञासाले पुगेँ उनीहरुको गाउँ। संवादको शीर्षक थियो कर्म र सुख– मनले तनसित भनिन् तन म तिमीलाई प्रश्न राख्छु। तिमी सुनमात्र। म तिनका उत्तर पनि दिने कोशीश गर्छु, तिमीलाई चित्त नबुझे रोक्न सक्छौं मलाई।
तन तिमी सुख केलाई ठान्छ्यौ ? किन व्यस्त रहनु पर्छ ? आराम के हो ? मलाई उनका प्रश्नहरु गम्भीर लागे। मनले फेरि थपिन्, बुझ तन मनलाई काम दिइ रहनुपर्छ। तिमी तन हौ। तिमी चाहना तुरुन्तै अनुभव गर्न रुचाउँछ्यौ।
हुनतः तिम्रो लक्ष्य सधै जीवनलाई व्यवस्थित बनाउने रहन्छ। तर तिमीले चाल्ने कदम र लिने निर्णय केलाई आधार मानेर गरेकी हुन्छौं त्यसलाई नविर्स। तिमीभित्र मन छ। त्यसैले मनलाई व्यस्त राख। मनलाई काम देऊ।
तनले मनलाई रोक्दै भन्छिन्। कामका लिस्ट छन् ? कस्ता काम दिम् ? ती के हुन ? मन भन्छिन् पहिला कर्म के हो भन्ने बुझ। मेरो विचारमा हामी जति नै जान्ने सुन्ने, कमाउने, र योग्य भए पनि हाम्रा कर्म पञ्चतत्वभन्दा पर जान सक्दैनन्। त्यसैले कर्म जे जस्ताप्रकारका भएपनि अन्तत तिनैसँग अन्तरनिहीत हुनुपर्छ। यसले नै आन्नदित बनाउछन्। तिमी विलासी जीवन जीउन सक्छौं। त्यो कति दीर्घ हुन सक्छ भन्ने पक्षलाई हामीले विर्सर्नु हुदैन। हो हामीलाई आराम चाहिन्छ। त्यो आराम तिमी बेलुका औषधीको सेवनले निदाएको होइन। थकाईले निस्पष्ट सुतेको देख्न चाहन्छु। हाम्रो शरीरलाई श्रम आवश्यक हुन्छ। श्रम गरिरहनाले हृदय र भावनालाई चंगा बनाउँछन्। तनावले हामीभित्र स्थान पाउँदैन।
हाम्रो भौतिक शरीर अलग छ। तर मन र तन एक हौं। म आफैमा तिमीविना केही हुँ र होइन पनि। हो तन तिमीलाई प्रयोगमा विश्वास लाग्छ म त्यो जान्दछु। तिमीभित्रको मनलाई नबुझउँदा सम्म तिमीले प्रयोग गर्ने बस्तु वा अनुभव कसरी सुखप्रद होलान् ?
यसै सन्दर्भमा म तिमी भ्रमबारे केही विचार राख्छु। हामी अधिकांश मानव जाति धेरै भ्रम र कम यर्थाथमा बाच्छौं। भ्रममै सुखको अनुभव गर्न थाल्छौं। म तिमीलाई भ्रमको उदाहरण दिन्छु– हामी समय कति फेरियो भन्छौं। के तिमीलाई लाग्छ समय बदलिएको हो? हाम्रा सोच, व्यवहार र देैनिकी फेरिएकै हुन्।
समय त तिमी र म रहँदा नरहँदा आफ्नै गतिमा थियो, छ र चलिरहन्छ। बरु हामीले समयसँग कति अन्तरसम्बन्ध गाँसेर चल्न सक्यौं भन्ने पाटो महत्वपूर्ण, जटिल अनि चुनौतिपूर्ण हुन सक्छ। हाम्रा दैनिकी, पहिरन बसाई रहन सहन परिवर्तनीय छन्। हाम्रो व्यवहारले आफ्नो र पराई छुट्टाएको छ। हेर त प्रकृतिलाई यसले कहिले पनि आफ्नो नियम मिच्दैन।
सूर्यका किरण, प्रकाश, वा नदिको बहाव वा बायु कसैकाप्रति ‘वायस’ छैनन्। बरु हामी दुःखी भएका बखत उराठिलो लाग्ने त्यही दिन, मन चंगा हुँदा कति छिटो वितेको लाग्छ होइन र ?
अर्कोकुरा थप्छु। तिमी कलाकार र बैज्ञानिकलाई हेर। दुवैका काम सम्मानित छन्। तर कुनै कलाकारले प्रकृतिमा भएको बाहेक केही नयाँ कल्पना गरेका छन् ? हो कलाकारले प्रकृतिसिर्जित कलालाई चिरिच्याट्ट पारेका छन्। बैज्ञानिकले जल, पृथ्वी, बायु, आकाश, अनि अग्नीभन्दा पर केही पत्ता लगाएका छैनन्। उनीहरुले पानी के के मिलेर बन्छ बताउन सक्छन् पानी बनाउन सक्दैनन्। अतः हामी मानिस सृष्टिका एक अंशमात्र हौं। आफूमा केही होइनौं। र हाम्रो आफ्नो केही होइन। तर हामी अज्ञानी भई आफूलाई सर्वेसर्वा जान्ने बुझ्ने र ठूलो भ्रम छ। त्यही भ्रममा बाचिरहेको छौं। र त, भूतसँग मुर्मिन्छौ, पछुताउँछौं। बर्तमानलाई पाखा राख्छौं। अनि भविष्यलाई पर्खेर जीवन यापन गरिरहन्छौं।
अन्तमा, तन मैले मेरा प्रश्नसहितका जिज्ञासा तिम्रा सामु राखेँ तिमीले यिनलाई कसरी लिने ? के थप्ने वा घटाउने तिम्रो हातमा छ। तिम्रो र मेरो सहकार्यले मात्र जीवनले सार पाउँछ। बाँकी निर्णय तिम्रो। उनीहरुका अन्तरसंवादले मन पुलकित भयो। म अर्को संवादमा सरिक हुने प्रण गर्दै धन्य हुँदै फर्के।