डिस्चार्ज भएको डेढ महिना भयो। अझै पनि हल्का खोकी छ, उनलाई। हिँड्दा श्वास फेर्न गाह्रो भए जस्तो हुन्छ। तर पनि आफूलाई ठिक भइसकेको आभास गरिरहेका छन्। कोठाको कुनामा अक्सिजनको सिलिण्डर थन्काइसकेका छन्, उनले। कुनामा राखिएको अक्सिजनको सिलिण्डर देखाउँदै उनले भने, ‘अब मलाई त्यसको जरुरत छैन। म ठिक भइसकेँ।’ अस्पतालमा लामो समयसम्म त्यही अक्सिजनको सहायतामा जीवित थिए, उनी।
तर अहिले उनी दिन प्रतिदिन फूर्तिलो हुँदै गएका छन्।
भेन्टिलेटरमा हुँदा उनलाई जिन्दगी यति नै रहेछ भन्ने नलागेको पनि होइन। तर उनको त्यो सोचाइ गलत सावित भएको छ। उनी मृत्युलाई मात दिएर पुरानै जीवन शैलीमा फर्किने कोशिश गरिरहेका छन्, भक्तपुर सूर्यविनायकका ३० वर्षीय सुमन अवाल।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढ्दै थियो। संक्रमितको संख्या थपिँदै थियो। संक्रमित संख्या बढ्दै गएपछि संक्रमित भएर निको हुनेको संख्या बढी थियो।
अनि त्यसैमा थियो, संक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सानो संख्या।