'आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ', बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए ।
मनवीर 'ग' वर्गका मुक्त हलिया हुन् । हलिया मुक्तिकाे घाेषणापछि उनले घर बनाउने प्रयाेजनका लागि ३ लाख २५ हजार रुपैयाँ सरकारी अनुदान पाएका थिए । त्याे पैसाबाट उनले घर बनाउन सुरु त गरे तर, बनिसक्दा उनलाई डेढ लाख रुपैयाँ ऋण लाग्याे ।
‘सरकारबाट पाएकाे पैसाले उसकै मापदण्डअनुसार बनाउँदा चर्पी पनि बन्दैन, हामीलाई त्यति रकमले दुई तले घर बनाउन भनियाे', मनवीर भन्छन्, 'घर बनाउँदा साढे पाँच लाख खर्च भयाे । दार काठ, ढुङ्गा, मिस्त्रीकाे ज्याला दिँदा मलाई १ लाख ४० हजार ऋण लाग्यो । त्याे पैसा साहुसँग नै माग्नुपर्याे । सय कडा तीनले लिएकाे ऋण तिर्न नसके फेरि हलिया बस्ने वचन दिएकाे छु ।’
साेही ठाउँकी छीता लुहारले सरकारबाट साढे तीन लाख रुपैयाँ त पाइन् तर घर बनाउन जग्गा थिएन । उनले साहुसँग जग्गा मागेर घर बनाइन् । 'पहिला पाँच हजार मात्र कर्जा थियाे । घर बनाएपछि डेढ लाख नाघेकाे छ । ज्वाइँसँग पैसा मागेर घर बनाएकी थिएँ, अहिले ज्वाइँले पैसा मागिरहेका छन् । कसरी तिर्ने हाे, चिन्ताले सताइरहेकाे छ', उनले गुनासाेकाे गाँठाे फुकाइन्, 'दुःखका दिन गए भनेर ऊबेला मख्ख परियाे, झन् कुकुरले नपाकाे दुःख पाइएला जस्ताे छ ।'