मामाघर भन्नेबित्तिकै हामीलाई अति प्यारो लाग्छ। छुट्टै आनन्द हुन्छ। विशेषगरी वर्ष विभिन्न चाडपर्वमा मामाघर पुग्दा बेग्लै खालको रमाइलो हुन्छ।
कस्तो अनौठो संस्कृति हाम्रो। हुर्केका छोरीचेली विवाहपछि पराया हुन्छन्। आफैँ जन्मे–हुर्केको गाउँ, घरआँगन उनीहरूसँगै पराया बनिदिन्छन्।
भनिन्छ नि–‘छोरीचेलीका लागि माइतीको कुकुरसमेत प्यारो लाग्छ।’ त्यहीँ आफू जन्मेहुर्केको आँगनसम्म पुग्न पनि चाडपर्वै कुर्नुपर्छ। मेरी आमाको पालासम्म यस्तै थियो।
अब छोरीचेलीका लागि परिस्थिति बिस्तारै अनुकूल बन्दै गयो, छोरीचेलीलाई माइती जान चाडपर्व कुर्नुपर्ने अवस्था फेरिँदै गएको छ।
मेरालागि पनि मामाघर कम्ति प्यारो छैन। सानो छँदा आमाको अघि–अघि गर्र्दै मामाघर पुग्दाको सम्झना ताजै छ। बाजे–बजै, मामा–माइजू, भाइ–बहिनी, तल्लो घर–माथ्लो घर, छर–छिमेक जता गए पनि माया पाउने ठाउँ– मामाघर थियो।
यसपटकको दशैं बिदाले फेरि मामाघर जाने संयोग जुराइदियो। लगभग एक दशकपछि मामाघर पुगेको थिएँ– यसपटक। कोरोना महामारीले लामो समय हिँड्डुल गर्न रोकिएको थिएँ। मामाघर यात्रामा पनि पुरानो सम्झनाले नै मन चङ्गा भइदियो।
मलाई मेरो मावलीगाउँ अलिक विशेष लाग्छ। यहाँ मैले बाल्यकालका ८–१० वर्ष बिताएको थिएँ। समुद्र सतहदेखि १०५० मिटर उचाइमा रहेको स्याङ्जाको ठूलो मोचाबारी राहाङखोलादेखि १४ किमी दूरीमा पर्छ।
यतिबेला बिरुवा जाने ग्रामीण सडकले छोएको सानो तर रमाइलो गाउँ। उही मेरो मामागाउँ हो।
स्याङ्जा जिल्ला साविकको बिरुवा–अर्चले गाविस। हालको बिरुवा गाउँपालिका वडा नम्बर २ मा पर्छ– मेरो मावली गाउँ ठूलो मोचावारी।
मगर भाषामा ‘मोचा’ को अर्थ केरा हुन्छ। सानो छँदा दौडिएको, उफ्रिएको, अनेकौँ बल्ड्याङ खाएको आँगन अनि गरा अहिले फेरिएछन्। तर, आत्मीयता थप गहिरिएर बसेका रहेछन्।
हाम्रा जिजुबाजे काले मुखिया। उहाँका छोरामध्ये जेठा हाम्रा बाजे गाउँका मुखिया थिए। सरल, इमान्दार र समाजलाई बराबर न्याय दिन्थे रे– हाम्रा बाजे टेकवहादुर थापा। चार भाइ मामा सबै इण्डियन गोरखा लाहुरे भए।
माहिला मामा पूर्णबहादुर थापा लामो समय गाविस अध्यक्ष भए। धेरै विकासनिर्माणका काम पनि गरे। राहाङ्खोला–विरुवाको मोटरबाटो निर्माणमा उहाँको ठूलो योगदान रहेको भनी गाउँलेले अझै सम्झँदा रहेछन्।
पछिल्लो समय कोही मामा पोखरातिर बसाइ सरे, कोही मधेश झरे। गाउँमा अन्य नातागोता आफन्तको बसोवास छ।
कुनै बेला चाडवाड र पर्व उत्सवमा भरिभराउ हुने गाउँमा अहिले चहलपहल शून्यप्रायः रहेछ। गाउँमा सुविधा बढे पनि अधिकांश मान्छे शहरबजार, मधेशतिर बसाइँ सरेका छन्। घरहरू खाली छन्। सधैँ हराभरा हुने खेतबारी बाझै छ।
स्वच्छ वातावारण, सुन्दर गाउँबस्ती अचेल थोरै नरमाइलो लाग्ने रहेछ। बस्ती पातलिएसँगै यहाँको चहलपहल पनि हुन्न। आधुनिकता र सुविधा पछ्याउँदै शहर बसाइँ सर्ने चलन नेपालभरि नै व्याप्त छ।
सानो छँदा, झ्याउँ झ्याउँ रमाइलो गाउँ, त्यतिवेलाको धेरै आफन्त नहुँदा अहिले सुन्य लाग्यो। बाल्यकालमा हुर्केको , खेलेको , उफ्रेको गाउँ ठाउको आँगन, वारी, पधेँरा पुनःस्मरण गर्दा म भावुक भएँ, नोस्टाल्जिक हुन पुगेछु।
गाउँबाट उत्तरपूर्व करिव ३०० मिटरमा जमुनेडाँडा स्कुल छ। त्यो वेला निमाविसम्म पढाइ हुन्थ्यो। चार सरभन्दा बढी विद्यार्थी थिए।
अहिले मावि भएछ तर विद्यार्थी जम्मा डेढ सय जति मात्र। गाउँमा बोर्डिङ स्कुल मोहले अहिलेका केटाकेटीहरु विरूवा, स्याङ्जा र पोखरातिर पढ्ने गरेको पूर्वशिक्षक हेमबहादुर थापाले जनकारी दिए।
फेरि पुरानो यादमा डुबेँ। घण्टी बज्दा हतार हतारमा खाना खाएर दौडिएर स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै स्कुल पुगेका दिनको याद झलजली आयो। ती दिन निकै टाढा लाग्थ्यो– स्कुल पुग्न। अहिले त हेर्दा त्यहीमाथि नजिकै रहेछ।
१० मिनटमै आरामले हिँडेर पुग्ने ठाउँमा छ स्कुल। बाल मष्तिष्क, सानै सोच ! अहिले सम्झिँदा कति रोमाञ्चक लाग्ने ! पारि वान्द्रे गाउँ। उतिबेला ११ घर थियो। अहिले पाँच घर मात्र बाँकी रहेछन्। सबै तितरवितर भएछन्। कोही मधेश त कोही शहर बजार झरेछन्। सबै लाखापाखा लागे। पाका भुपु मलाया लाउरे ९७ वर्षे छोक्रा बाजे विरह पोख्छन्।
बान्द्रेतिर माथि खुला भिरालो चौरमा गाई बाख्रा चराउन गएको, सेल्लौरी खेलेको, बान्द्रेखोलामा माछा मारेका दिनहरु फेरि सम्झनामा पुगे।
गौखा, अर्चले, बान्द्रे, श्रीडाँडा, आर्केकोट, गोब्रेखोला नजिकका गाउँ टोल। आरूखर्क, मनकामना, गुमार्दि, किचनास, नलाङ, सानो मोचाबारी, बिरुवा बजार अलिक परका गाउँबजार थिए।
मोचावारी, श्रीडाँडा, मगर समुदायको बसोबास छ भने गावु, गौखा, वेसारडाँडा, चन्द्रकोटलगायत गाउँहरुमा गुरुङ समुदायको बाहुल्य छ।
मोचाबारीबाट केहीमाथि समुन्द्र सतहदेखि गावु गाउँ ११०० मिटरमा अवस्थित छ। यहाँबाट अन्नपूर्ण, माछापुछ्रे र मनास्लु हिमालका लर्कन देखिन्छन्। भतिजा मिलन थापाले मलाई गाउँ डुलाए। उनी अहिले गाउँका हसिँला र जोसिला युवा हुन्।
कोदोबारीको फाँटबाट निकै रोमाञ्चक डाँडाकाँडा, बिरुवा गाउँपालिकाका धेरै गाउँहरु पर–परसम्म देखिन्छ। उत्तरपश्चिममा ढोवाडी, राङभाङ, कोल्मा, उत्तरतिर हिमाल हुँदै चित्रे, ओरस्टे पूर्वतिर अनगन्ती गाउँ देखिन्छन्। रातमा विजुलीले गाउँबस्ती झलमल देखिन्छ।
वर्षेनी आउने माघे संक्रान्ति, चैत दशैँ, बडादशैँ, तिहारलगायत चाडवाडमा गाउँका मूली मान्छेहरु भेला भएर बिताउँछन्। चाडवाडको बेला प्रत्येक घरले पालैपालो पाहुनालाई खुवाउने चलन छ।
वर्षभरी आ-आफ्नै काममा व्यस्त हुने र चाडवाडको वेला छर छिमेकी आफन्तसँग भेटघाट, खानपिन, दुःख सुख साटासाट गर्ने र भलाकुसारी गरेर बिताउने पुरानो चलन अजै कायम रहेको स्थानीय मित्र रानाले सुनाए। मलाइ पनि २ रात त्यस्ता भेटघाटमा सहभागी हुने मौका जुर्योइ।
गाउँगाउँमा विजुली, पानी, सडक सञ्जालले जोडिएको छ। पुराना वुढापाकाहरु सबै वितिसकेछन्, धेरै परिवारहरु बसाइ सरे, नयाँ पुस्ताले पनि वुढापाकाले छोडेका बाटो पछ्याएका छन्।
कोरोना माहामारीले परदेशिएका केही युवा गाउँ फर्किए। देश–विदेश रोजगारीमा गएकाहरु धमाधम गाउँमै पक्की घर बनाउँदैछन्। अब नयाँपुस्ताले गाउँ घरलाई माया गरेर नयाँ ढंगले आयआर्जन हुने आधुनिक कृषि फार्म, फलफूल, पशुपालन गर्न सके हराएको गाउँघरको रौनक पुनःफर्किने थियो।
नयाँ–नयाँ कृषि योजना, सीप तालिम र गाउँ आत्मनिर्भर बनाउन महामारीले धेरै पाठ सिकाएको छ। यसमा स्थानीय र प्रदेश सरकारको ध्यान जान जरूरी छ। महामारीले आत्मनिर्भर बन्न ठूलो पाठ सिकाएको छ। युवाहरु फर्किने क्रम बढ्दो छ। यसलाई स्थानीय सरकारले बेलैमा सोचे गाउँको विकासले तीव्रता पाउने निश्चित छ।
दशैँ भर्खर सकियो, अहिले गाउँमा कोदो टिप्न हतारो छ– बेसीमा धान काट्न। नियमित घरको काम, घास काट्ने, गाईवस्तु रेखदेखका काम चलिराखेकै छ।
अबका युवापुस्ता नेपालमै नयाँ सोचले काम गरेर अगाडि बढ्नुपर्छ। यसमा सक्दो आर्थिक र प्राविधिक सहयोग सरकारले गर्नुपर्छ। अहिले हजारौँ युवा जनशक्ति सस्तोमा विदेशिन बाध्य छन्। उनीहरूलाई नेपालमै रोकेर रोजगार श्रृजना गर्न सक्नुपर्छ।
उनीहरूलाई आर्थिक, नैतिक प्रोत्साहन आवश्यक छ। सकारात्मक सोचका साथ आफ्नै देशमै पसिना बगाउन सके यहीँ सबथोक छ।
आशा गरौँ, केही सालमै रित्तिएका मेरो मामाघर जस्ता नेपालका हरेक गाउँबस्तीले फेरि मुहार फेर्नेछ। प्रत्येक गाउँ पुनः जाग्ने छ। त्यो पुरानो रौनक पुनः फर्किने छ।
- आर्काइभ