भारतीय क्रिकेट कप्तान विराट कोहली बिहीबार ३२ वर्षमा प्रवेश गरेका छन्। उनी विश्वको फिट खेलाडीको पक्तिमा आउँछन्।
१९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका विराटले विश्व क्रिकेटका नामुद खेलाडीको कीर्तिमानलाई पनि पछि छोडिसकेका छन्।
उनी क्रिकेटको तीनवटै फरम्याट टेस्ट, एकदिवसीय र टि–२० मा भारतीय टिमका कप्तान हुन्। उनले यो तीनवटै फरम्याटमा ४ सय १६ खेल खेलेका छन्, जसमा ७० सतक बनाइसकेका छन्।
उनीभन्दा माथि सर्वाधिक सतक बनाउने ब्याट्सम्यानमा भारतकै सचिन तेन्दुलकर (१००) र अस्ट्रेलियाका रिकी पोन्टिङ (७१) छन्।
आईपीएलमा उनी रोयल च्यालेञ्जर्स बेङ्लुरुका कप्तान हुन्।
५ नोभेम्बर १९८८ मा दिल्लीमा जन्मिएका विराटका बुवा प्रेम कोहली पेसाले वकिल थिए। सन् २००६ मा ब्रेन स्ट्रोकका कारण उनको निधन भएको थियो।
कोहली आफ्नो आमा सरोजसँग निकै नजिक छन्। उनले ११ डिसेम्बर २०१७ मा बलिउड अभिनेत्री अनुस्का शर्मासँग इटालीमा विवाह गरेका थिए। उनी छिट्टै बुवा पनि बन्दैछन्।
विराटले २००८ को युथ–१९ विश्वकपमा आफ्नो कप्तानीमा भारतलाई उपाधि दिलाएका थिए। उनले १८ अगस्ट २००८ मा श्रीलंकाविरूद्ध दाम्बुलामा टेस्टबाट डेब्यु गरेका थिए। उनलाई जनवरी २०१७ मा एकदिवसीय र टि–२० को कप्तान नियुक्त गरिएको थियो।
महेन्द्रसिंह धोनीले २०१४ मा अस्ट्रेलियाको भ्रमणमा टेस्ट कप्तानी छोडेपछि कोहली भारतीय टिमको कप्तान नियुक्त भएका थिए।
२०१८ मा उनको नेतृत्वमा भारतले अस्ट्रेलियालाई अस्ट्रेलियामै ७१ वर्षपछि टेस्ट श्रृंखलामा हराएको थियो। भारत यतिबेला २–१ ले विजयी भयो।
विराट भारतीय क्रिकेटमा निकै आक्रामक खेलाडी मानिन्छ।
२०१५ को विश्व कपमा विराट न्युजिल्याण्डका एक पत्रकारसँग झोक्किएका थिए।
२०१४ मा पनि उनले अस्ट्रेलियामा एक दर्शकलाई बीचको औला देखाएर चर्चा कमाएका थिए।
विराटले ८२ टि–२० मा सबैभन्दा बढी २७ सय ९४ रन बनाएका छन्। विराटले तीनवटै फरम्याटमा कूल २० हजार रन बनाएका छन्।
एकदिवसीयमा सबैभन्दा छिटो ८ हजार, ९ हजार, १० हजार र ११ हजार रन बनाउने कीर्तिमान उनीसँग छ। यो कुरामा उनले सचिनलाई पनि पछाडि पारेका थिए।
कोहली टेस्टमा लगातार चार श्रृंखलामा ४ वटा दोहोरो सतक बनाउने ब्याट्सम्यान हुन्। उनले २०१६–१७ मा यो उपलब्धी चुम्न अस्ट्रेलियाका लिजेन्ट डन ब्रेडम्यान र भारतकै राहुल द्रविडको कीर्तिमान भंग गरेका थिए।
विराटले कप्तानको भूमिकामा तीनवटै फरम्याटमा ४० सतक बनाएका छन्। उनी पोन्टिङको यो कीर्तिमान तोड्न अलिकतिले पछाडि छन्। पोन्टिङले कप्तानका भूमिकामा ४१ सतक बनाएका थिए।
उनले कप्तानको भूमिकामा सबैभन्दा धेरै १८ सतक बनाएका छन्। उनी भारतीय क्रिकेटमा सबैभन्दा धेरै दोहोरो सतक बनाउने ब्याट्सम्यान हुन्। उनले सात पल्ट दोहोरो सतक बनाइसकेका छन्।
उनीपछि सचिन र वीरेन्द्र सहवागले ६–६ वटा दोहोरो सतक बनाएका छन्। उनले आईपीएलमा पनि ५ सतक बनाएका छन्। उनी क्रिस गेल (६) पछि सबैभन्दा धेरै सतक बनाउने ब्याट्सम्यान हुन्, आईपीएलमा।