काेराेना महामारी सुरु भएयता ७ महिना सुनसना रारामा विस्तारै पर्यटक बढ्न थालेका छन्।
कर्णालीकाे जुम्लामा रहेका चन्दाननाथ, तातोपानी, बौद्ध स्तुपा र गुठिचौर, डोल्पाकाे शेफोक्सन्डो, हुम्लाकाे लिमी र मानसरोवरले पर्यटक बाेलाइरहेका भएपनि सबैभन्दा बढी पर्यटक रारा पुगिरहेका हुन्छन्।
रारालाई अझ आकर्षक रुपमा हेर्न सकिने एक प्रमुख स्थान मुर्माटप हाे। जहाँबाट ताल र त्यस वरिपरिका हिमाल लगायत सुन्दर दृश्यहरुकाे धित नमरुन्जेल अवलोकन गर्न सकिन्छ।
जसका लागि लातबाट १ घन्टा उकालो हिड्ने वा घाेडा चढ्ने गर्न सकिन्छ। जहाँबाट कान्जिरोवा, सिस्ने, अपि र सैपाललगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशका मनमाेहक दृश्यहरुसँगकाे सामिप्यता बढाउन सकिन्छ।
संसार लाेभ्याइरहेकाे राराले काेराेनासँग हारेपछि सुनसान थियाे। तथापि अब ताललाई फेरो हालेर चुम्बन गर्न आउनेहरु बढ्न थालेका छन्।
‘बिस्तारै स्वदेश तथा विदेशका सीमित पर्यटकहरु आउन थालेका छन्,’ रारा डाँफे गेस्टहाउसकी पूर्णदेवी बमले भनिन्।
रंग फर्ने रारालाई कहिले नीलो, कहिले बैजनी, कहिले सिम्रिक, कहिले आकासेजस्तो अनि कहिले खैरो देख्न सकिन्छ। पानीकाे कुनै रंग हुँदैन तर मौसमअनुसार दिनमै ४/५ पटक फरक-फरक रुपमा सिंगारिएकी बेहीली जस्तै देख्न सकिन्छ।
कोराना कहरकै बीच रारा घुमेर फर्किएका जुम्लाका धनराज सुनारको अनुभव यस्ताे छ, ‘रारा पुगेपछि मात्रै हाे राराकाे सुन्दरतासँग निकट हुन पाइने। यस्ताे आनन्दा नदेखिएको स्वर्गमा के हाेला? त्यहाँ पुगेपछि हिमाल, पहाड, नदी–नाला, जडीबुटी, वन्यजन्य, चराचुरुंगी अवलोकनले मन झनै फुरुंग बनाउँदो रहेछ।’
समुद्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर मिटर र गहिराइ १ सय ६७ मिटर छ। तालमा दुर्लभ जातका असला माछा पाइन्छन् भने निकुञ्जमा ३ सय प्रजातिका चरा पाइन्छन्।
यस क्षेत्र कस्तूरी, दुर्लभ रेडपाण्डा, मृग, घोरल, भालु, रतुवा लगायत वन्यजन्तुकाे बासस्थान हाे।
रारा राष्ट्रिय निकुन्जका निमित्त प्रमुख पदम बुढाका अनुसार चालु आवको असोज सम्म ५ सय बढी पर्यटक रारा आएका छन्।
‘बन्दाबन्दीको अवस्थालाई हेर्दा अन्य पर्यटकीय क्षेत्रभन्दा रारामा पर्यटक उल्लेख्य पर्यटक आएका छन्,’ उनले भने, ‘कार्तिक महिनामा दसैलाई लक्षित गरी दैनिक डेढ सय भन्दा बढी पर्यटक आएका छन्।’
लामाे समयकाे लकडाउन खुकुलो भएसँगै एक पटक तपाई पनि एकपटक रारा पुगेर मन चंगा बनाउनुहाेला भन्दै यहाँ केही तस्बिरहरु प्रकाशन गरिएकाे छ।