सोमबार, १५ डिसेम्बर २०२५

फ्रान्सद्धारा मालीमा ‘एयर स्ट्राइक’, ५० बढी अलकायदाका आतंकवादी मारिएको दावी

News Image
• • •

फ्रान्सले अफ्रिकी देश मालीमा ‘एयर स्ट्राइक’ गरेर ५० अलकायदाको आतंकवादीलाई मारेको दावी गरेको छ। फ्रान्स सेनाका प्रवक्ता कर्णेल फ्रेडरिक बार्बरीले यसको जानकारी दिँदै ४ जना आतंकवादी पनि पक्राउ परेको बताएका छन्। 

यस्तै, बमले भरिएको एउटा ज्याकेट पनि बरामद गरिएको उनको भनाइ छ। 
अलकायदाका आतंकीहरू फ्रेञ्च सेनामाथि हमला गर्ने तयारीमा थिए। 

बुर्किना फासो र नाइजरको सीमामा रहेको फ्रान्सेली ड्रोनले मोटरसाइकलमा हिँडिरहेका आतंकवादीको समूहलाई ट्रेस गरेको थियो। यो समूहमाथि दुईवटा मिराज विमानबाट मिसाइल हानिएको थियो। 

फ्रान्सले गत सातादेखि यो क्षेत्रमा जिहादीविरूद्ध अभियान सुरु गरेको थियो। फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लीले भने, ‘म यस्तो अपरेशनको विषयमा कुरा गर्न चाहन्छु, जुन निकै महत्वपूर्ण छ। घटना ३० अक्टुबरको हो। यो अभियानमा ५० भन्दा बढी आतंकवादी मारिएका छन् र उनीहरूबाट ठूलो परिमाणमा विस्फोटक हतियार बरामद भएको छ।’

सेनाका प्रवक्ता बार्बरीले मालीमा आइएस आतंकवादीको समूह ‘इस्लामिक स्टेट इन ग्रेटर सहारा’ विरूद्ध पनि अर्को अपरेशन भइरहेको बताए। 

यसका लागि ३ हजार सेना परिचालित भएको उनको भनाइ छ। सयुक्त राष्ट्र संघको शान्ति अभियानअन्तर्गत मालीमा १३ हजार सेना तैनाथ छन्। फ्रान्सले मात्र यो अभियानका लागि ५१ सय सैनिक तैनाथ गरेको छ। 

मुस्लिम कट्टरवादका कारण फ्रान्सले यो साता निकै सास्ती खेप्नु परेको छ। पैगम्बर मोहम्मदको कार्टुन देखाएको आरोपमा आफ्नै छात्रले घाँटी रेटेर एक शिक्षकको हत्या गरेपछि फ्रान्सको वातावरण तनावपूर्ण छ। 

नीस शहरमा पनि चर्च बाहिर चक्कुको प्रहारले तीनजनाको हत्या गरिएको थियो। शनिबार एउटा चर्चका पादरीलाई पनि गोली ठोकेर मारिएको थियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!