जितेन्द्र दनुवारलाई परिवारसँगै बस्ने मन किन नहुँदो हो र? त्यो पनि चाडबाडका बेला ! तर, उनलाई परिवारसँग छुट्टिएर कोरोना हटस्पट बनेको काठमाडौंमा पुग्नुछ, त्यहाँ काम गरेर धेरैथोरै रकम जुटाएर परिवारकहाँ पठाउनुछ। काठमाडौंमा पाइने काम नै जितेन्द्रको परिवार पाल्ने आधार हो।
सिन्धुुलीका जितेन्द्र पेशाले मिस्त्री हुन्। काठमाडौंमा ठडिएका अधिकांश ठूला-साना महलमा सीप र पसिना पोखेका छन्। यही कामले परिवारको भरथेग हुँदैथियो। गत वर्षदेखि फैलिएको कोरोना महामारीबीच पनि फाट्टफुट्ट काम पाइरहेका थिए। तर, यसबीचमा लाखौं मानिसहरूको रोजगारी गुमेकाले अब निर्माण क्षेत्रमा पनि लामो समयसम्म असर देखिने जोखिम छ। अझ, बीचैमा काम छाडेर हिँडेकाहरू समयमै नफर्किए त काम नै नपाउने पक्कापक्की छ।
दशैँ मान्न जितेन्द्र कात्तिक ६ गते घर गएका थिए। फेरी मजदुरी गर्नकै लागि कात्तिक १५ गते काठमाडौं फर्किए। शनिबार उनी बसबाट चावहिल चोकमा ओर्लिए। उनको एक हातमा झोला र अर्काे हातमा बोरा थियो।
जितेन्द्रहरू गुजारा टार्ने विकल्प खोज्दै महामारीको घानमा फाल हानिरहेकै छन्। संक्रमित संख्या बढिरहेकाले काठमाडौं नआउन भनी विज्ञहरूले सुझाइरहँदा स्वास्थ्यभन्दा बढी चिन्ता भोको पेटको छ। त्यसैले त जितेन्द्र भन्छन्, ‘कोरोना जोखिम भएर के गर्नु, काम गर्ने थलो यही हो, आउनु नै पर्छ।’
यस्ता सुझाव मान्न जितेन्द्रहरूलाई सहज छैन। मान्ने हो भने त गाउँदेहातबाट काठमाडौं आउनै भएन/मिलेन/पाइएन। यसो हुँदा परिवार कसरी पाल्ने? हातमुख कसरी जोड्ने? सिंहदरबारमा खटिइनुपर्ने सरकारलाई बालुवाटारमा आराम गर्न जुन सुविधा छ, ज्यावल भिज्नेगरी पसिना बगाउनेहरूले कष्टसाध्य दु:ख नगरे मुखमा माड लाग्दैन नि!
गाउँठाउँ र देशमै युवाहरूलाई कमाइखाने ठाउँ पर्याप्त छैन। सरकारले बर्षेनी यति र उति रोजगारी सृजना गरेको भनिरहँदा जितेन्द्रहरूले आफू जन्मे-हुर्केको माटोमै पसिना बगाएर नियमित आम्दानी गर्ने अवसर कहिल्यै पाएका छैनन्। मजदुरी गरेर परिवार पाल्नेहरू सात देहात/सात खोला/सात डाँडा र सात समुन्द्रपारी भौंतारिँदैछन्। डराएर कतै नगए कोरोनाअघि नै भोकले प्राणपखेरू उडाउँछ।