पहिलो जेम्स बोन्डलाई ब्रोसननको संवेदना

जेम्स बोन्ड शृंखलाका पहिलो नायक सिन कोनरीको निधनमा अर्का जेम्स बोन्ड नायक पियर्स ब्रोसननले दुःख व्यक्त गरेका छन्। 

९० वर्षीय कोनरीको शनिबार सुतेको अवस्थामा घरमा निधन भएको थियो। कोनरी आफ्नो पथप्रदर्शक भएको भन्दै उनको निधनले आफूलाई स्तब्ध तुल्याएको ब्रोसननले बताए। 

उनले कोनरीको सम्मानमा इन्स्टाग्राममा केही शब्द लेखेका थिए। जसमा भनिएको छ, ‘सिन कोनरी सर, म सानो हुँदा तपाई मेरो मनपर्ने जेम्स बोन्ड हुनुहुन्थ्यो, जो पछि तपाईकै पद्चिन्हमा हिड्ने सौभाग्य पाएँ। तपाई हाम्रो यादमा सधै बाँचिरहनु हुनेछ।’

श्यामस्वेत सिनेमामा जासुस हिरोको छवी बनाएका कोनरीले सन् १९६२ देखि १९८३ सम्म सात वटा जेम्स बोन्डको फिल्म खेलेका थिए। 

ब्रोसननले भने १९९५–२००२ सम्म चार वटा फिल्म खेल्न पाए। ब्रोसननलाई प्रतिस्थापन गर्दै हाल डेनियल क्रेग जेम्स बोन्डको शृंखला खेलिरहेका छन्।

प्रकाशित मिति: : 2020-11-01 22:46:00

प्रतिकृया दिनुहोस्