२०४१ सालताका अहिलेको जस्तो प्रविधिको विकास हुन्थ्यो त इलामका मंगेश बस्नेतले नामको अगाडि पूर्व-राष्ट्रिय खेलाडी जोडिन्थ्यो। फेसबुक ट्विटर जस्ता सामाजिक सञ्जाल र इमेलको विकास तत्कालीन समयमा भएको भए सूर्य, चन्द्र अंकित राष्ट्रिय टोलीको जर्सी लगाएर उनले आफ्नो सपना पूरा गर्ने थिए। तर, इमेल इन्टरनेटको पहुँचको त कुरा छाडौँ राष्ट्रिय टोलीका परेको आकाशवाणी सूचना समयमा नपाउँदा उनले नेपाली टिमबाट खेल्ने अवसर गुमाए।
मंगेशसँग पहिलो पटक श्रीलंकाको कोलम्बोमा तय भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय टिमको झण्डा अंकित जर्सी लगाउने अवसर थियो। तर, श्रीलंकामा तमिल टाइगर (लिट्टे) को सशस्त्र युद्धका कारण प्रतियोगितामा रद्ध भएपछि पाएको पहिलो अवसर उनले गुमाए। झण्डै एक महिना लामो जावलाखेलमा भएको क्लोज क्याम्पमा बसेका मंगेशको पहिलो पटक राष्ट्रिय टोलीको खेल्ने सपना अधुरो नै रह्यो।
त्यसपछि लगत्तै पाकिस्तानमा भएको कैद–ए– आजाम अन्तर्राष्ट्रिय प्रतियोगितामा मंगेशलाई नेपाली टिममा बोलाइएको थियो। तर त्यसपटक उनलाई सूचनाको पहुँच र भौगोलिक विकटताले धोका दियो।
दीपेन्द्र ढकाल नेतृत्वमा पाकिस्तान जाने टोलीमा उनको नाम पनि थियो। प्रविधिको विकास र सहज सूचनाको अभावका कारण उनले महत्वपूर्ण अवसरको फाइदा लिन सकेनन्। ‘अहिलेको जस्तो इमेल इन्टनेट वा सूचनाको पहुँच भएको भए म पनि राष्ट्रिय टोलीको सदस्यका रूपमा रहन पाउँथे’ उनी सम्झन्छन् ‘त्यो अवसरलाई सदुपयोग गर्न पाएको भए सायद मेरो लक्ष्य पूरा हुन्थ्यो। जागिर नखाई फुटबल रोज्थेँ होला’