आज जनैपूर्णिमा । विराज सबेरै पशुपति गयो । जनै फेर्यो, रक्षाबन्धन बाँध्यो र वाग्मतीमा मन्त्र जपेर घर फर्कियो ।
उसले बच्चा र श्रीमतीलाई पनि रक्षाबन्धन र टीका लिएर आएको छ ।
‘पापा मलाई पहिला, मलाई पहिला’ । ठूलो र सानो बच्चा उछिनापछिन गरिरहेका छन् ।
सानोको जिद्धी ‘म सानो भएकाले मलाई पहिला रक्षाबन्धन’ ।
ठूलोको आग्रह ‘म ठूलो भएकाले मेरो पालो पहिला आउँछ । दशैमा पनि पहिला मलाई टीका लगाएको थाहा छैन’ ?
दुवै बाबुलाई नाडीमा रंगिन धागो र निधारमा टीका लगाएपछि पालो आयो श्रीमतीको ।
टीका र रक्षाबन्धन के सकिएथ्यो ल्यान्डलाइनमा फोनको घण्टी बज्यो ‘टिनि ... ... न्न’ ।
श्रीमतीलाई चिया नभन्दै विराजले रिसिभर उठायो ।
‘म कमरेड अजंग । तपाई उपसचिव विराज होइन ? तपाईलाई आज हामी लिन आउँदैछौं ।’
विराजको शरीर थर्रर काप्न थाल्यो । बोली लर्बरियो । शब्द अड्किए जस्तो भो ।
‘आज बिदा नै हो । आजै हामी लिन आउँछौं । कुरा जरुरी छ । तर यसको सूचना कसैलाई नदिनु होला । तपाईंको लोकेशन हामीलाई थाहा छ ।’
‘होइन त्यस्तो के पर्यो र ? मैले त्यस्तो के बिगारेको छु र ?’ विराजले साहस तोड्यो ।
ठूलो र सानो विराजलाई हेरिरहेका छन् । श्रीमती भान्छामा क्वाटी र भात पकाउँदै छिन् । जनैपूर्णिमा उसले क्वाटी भातसँग मनाउने परम्परा धान्दै आएको छ ।