पुम्दीभुम्दीबाट हाँसेको हिमाल चियाउँदा (फाेटाे फिचर)

करिब ८ महिना कोरोना महामारीले काठमाडौंमा बन्दी जीवन जस्तै बिताइयो। दशैंको मौका पारेर राजधानी छोडेर ह्याङ्गओवरबाट मुक्त हुन बाहुन्टार, बेनिघाटमा केही समय बिताएर पोखराबाट करिब १८ किमी दक्षिणतर्फ हानिदै भुम्दी पुगे। 

कच्चीबाटो पुम्दी, कालाबाङ हुँदै भुम्दीतिर उकालो लाग्दै गर्दा बिस्तारै घाम अस्ताउँदै थियो, उत्तरतिर सेताम्मे हिमाल सुनौलो रङमा परिवर्तन हुँदै थियो। माथि पुग्दा नपुग्दै हिमाल शान्त भैसकेको थियो, अध्यारोले छप्पक्क छोपिहाल्यो।

बेलुकी जुनेली रातमा एकान्तमा शान्त हिमाल अबेरसम्म नियाल्दै बित्यो। प्रकृतिको अथाह वरदान भएको ठाउँ रात आनन्दले बिताए । मन चङ्गा भयो, थकान सबै हराएको महसुस भयो।

बिहान उठ्दा हिमाल जागिसकेको थियो। बिस्तारै घामको किरण हिमालमा ठोकिदा सुनौलो रङ्ग हुँदै मुस्कुराउन थाल्यो। एकाबिहानै पोखरा उपत्यकालगायत सेरोफेरो हिमालको मुस्कानले मक्ख परेको थियो।

धौलागिरी हिमालदेखि माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लु हिमालसम्मको लामो हिमालको लर्कन धप्पक्क बलेको थियो।
अहो! क्या रोमाञ्चक दृश्य। एउटा कुसल चित्रकारले फूर्सतमा कोरेको विशाल पेन्टिङ जस्तो। 

उत्तरतिर सेताम्मे हिमाल, वरिपरि हरियाली डाडाले घेरिएको, बीचमा सुन्दर पोखरा नगरी र फेवाताल, छरपस्ट बस्तिहरु। 

विदेशी माझ लोकप्रिय पञ्चासे ट्रेक यहि बाटो हुँदै पदयात्रा गर्छन्। सेतो गुम्बा हुँदै या टिलहर, पुम्दी, कालबाङ, भुम्दी, फुर्लुङ हुँदै पञ्चासे निस्कन्छ। स्वदेशी पर्यटक पनि नियमित घुम्न आउँछ्न्। यसपल्ट भने कोरोना महामारीले पर्यटकीय गतिबिधि ठप्प छ। 
लामो समय युरोप बसेर फर्केका भुम्दी निवासी दिपक गुरुङ दाइ लकडाउन अवधिभर चुत्रालमा आफ्नो पुर्खेउली खेतबारीमा रिसोर्ट बनाउन ब्यस्त छ्न्। 

‘विदेश धेरै बसियो, अब आफ्नै देशमा कर्म गर्ने हो,’ उनले भने। कुनै समय विदेशी पर्यटकले यो क्षेत्र खचाखच हुन्थ्यो, टेन्ट्ले भरिभराउ हुने स्थानीय विद्यार्थी नवीन परियारले बताए। यतातिर दशैंको रौनक सामन्य रह्यो। 

विश्वभरि कोरोना आतंकले त्रसित बनाइरहदा, यता गाउँघरतिर भने डर त्रास कम रहेछ। दैनिक जीवन चलिरहेकै छ। धानबाली थन्क्याउन किसानलाई चटारो छ। कोदो पाक्न लागेको छ। हिजो पूर्णिमाको दिन। स्थानीयहरु डाडामा पुजा गर्न ब्यस्त थिए। सिल्डु थानमा माछा, बराह बजै थानमा खिर, सिद्धाथानमा भेडा र भयार थानमा कुखुराको भाले चढाएर पुजा गरियो। 

आँखै अगाडी देखिने हिमालको दृश्य, पोखरा उपत्यका, फेवाताल र पर परसम्मको गाउँ घरका दृश्यले भुतुक्कै बनाउँछ।  

फुर्लुङ, चुत्राल, पोखरी, भुम्दी, देरस्वारा, काभ्रे, टुनार, पक्याको, तेर्सोलेक, पलाइचे, तारेभीर, चिसापानी, डाडाघर, फिटिङ्घारी आदि सुन्दर गाउँले मन रमाउँछ। नजिकै पश्चिममा छ, कास्कीको अग्लो थाप्लेको डाडा। यहाँ गुरुङ, छेत्री, ब्राह्मण ,मगर, परियार, बिक, नेपाली लगायत मिश्रित समुदायको बसोबास छ। करिब १३०० देखि १८०० मि डाडाको यात्राले जसको पनि मन बहलाउँछ।

पोखराबाट पुम्दीभुम्दी हुँदै तारेभीरसम्म बस सेवा सञ्चालनमा छ। कालाबाङ र भुम्दीमा होम्स्टेको पनि सुबिधा छ। कालाबाङ घडेरी लोकप्रिय लोक–रकस्टार नेपथ्यका फ्रन्टम्यान अमृत गुरुङ दाइको पूर्खेउँली गाउँ हो। १५ वर्षपछि अमृत दाइसंग भेटघाट भयो। हिमाल, पोखरा शहर र फेवातालको दृश्यमा रमाउदै दाइसंग रमाइलो गफगाफ भयो।अथाह सुन्दरताले भरिपू्र्ण पोखरा साच्चै सुन्दर छ।
लामो समयको बन्दाबन्दीको ह्याङ्गबाट मुक्त हुन तपाईं पनि पुम्दीभुम्दी घुम्ने हैन?

हेर्नुस तस्विरहरु!

प्रकाशित मिति: : 2020-10-31 13:53:00

प्रतिकृया दिनुहोस्